लोड हुँदैछ...

मेनु

संखुवासभाका एमाले नेता सुजन श्रेष्ठद्वारा राजीनामा, नेतृत्वमा निश्चित व्यक्तिको बोलवाला भएको आरोप

संखुवासभाका एमाले नेता सुजन श्रेष्ठद्वारा राजीनामा, नेतृत्वमा निश्चित व्यक्तिको बोलवाला भएको आरोप

विराटनगर । नेकपा (एमाले) का नेता सुजन कुमार श्रेष्ठले पार्टीको संगठित सदस्यता र सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् । संखुवासभा जिल्ला कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै उनले सोमबार आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

लामो समयदेखि एमालेमा सक्रिय रहेका श्रेष्ठले पार्टीको कार्यशैली र नेतृत्व चयनको प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनले पार्टीभित्र जनवादी केन्द्रीयताको चरम लेनिनवादी शैली हाबी भएको र निश्चित व्यक्तिहरूलाई मात्र नेतृत्वमा बारम्बार स्थापित गर्ने काम भएको आरोप लगाएका छन् ।

विशेषगरी ११औँ महाधिवेशनको क्रममा जिल्लादेखि केन्द्रसम्म नै निश्चित नेताहरूको मात्र बोलवाला कायम गरिएको र इमानदार कार्यकर्ताहरूलाई उपेक्षित गरिएको उनको ठहर छ । राजीनामा पत्रमा उनले भनेका छन्, ‘कार्यकर्ताहरूलाई प्रशिक्षण र अवसरहरूबाट विमुख राख्ने तथा बहसको संस्कृतिलाई उपेक्षा गर्ने काम भए । यस्तो अवस्थामा पार्टीभित्रै बसिरहनु भन्दा नवीन सोचतर्फ अगाडि बढ्नु उचित देखियो ।’

श्रेष्ठले एमालेको तत्कालीन केन्द्रीय पुस्तकालय तथा अभिलेख विभागको सदस्यको जिम्मेवारीमा समेत रहेका थिए । उनले अबको राजनीति ‘समुदायमा आधारित सामूहिक नेतृत्व’को ढाँचामा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

‘पार्टीले उम्मेदवार तोक्ने र जनताले मतदान गर्ने हालको परिपाटी भन्दा जनताले नै आफ्नो विचारका आधारमा उम्मेदवार छान्ने र मतदान गर्ने पद्धति बढी लोकतान्त्रिक हुन्छ,’ श्रेष्ठले पत्रमा उल्लेख गरेका छन् ।

उनले एमालेभित्र राजनीतिक बहस र सान्दर्भिकता सकिएको भन्दै अब आम नागरिकको घरदैलोमा पुगेर नयाँ ढंगले राजनीतिक यात्रा अगाडि बढाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds