लोड हुँदैछ...

मेनु

सुम्हात्लुङ मिनी म्याराथनमा अमिर र पुष्पा विजयी

सुम्हात्लुङ मिनी म्याराथनमा अमिर र पुष्पा विजयी

पाँचथर । पाँचथरको फिदिममा आयोजित आठौँ सुम्हात्लुङ मिनी म्याराथनमा पुरुषतर्फ ताप्लेजुङका अमिर तेङवुङ र महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा (फुङनारा) विजयी भएका छन्।

पुरुषतर्फ अमिरले ९.५ किलोमिटर दुरी २२ मिनेटमा पूरा गर्दै प्रथम स्थान हासिल गरे भने पाँचथर मिक्लाजुङका ओसन राई दोस्रो (२९ मिनेट) र ताप्लेजुङ फक्ताङलुङका रमेश लिम्बू तेस्रो (३० मिनेट) भए।

महिला दौडमा पुष्पाले ५.५ किलोमिटर दुरी १९ मिनेटमा पूरा गरी प्रथम स्थान सुरक्षित गरिन् । दोस्रो स्थान पाँचथर फाल्गुनन्द गाउँपालिकाकी कृतिका नेम्वाङ (२० मिनेट) र तेस्रो स्थान पाँचथर फिदिमकी मेन्छोमा तुम्वापो (२० मिनेट ३० सेकेन्ड) भए ।

प्रतियोगितामा पुरुषतर्फ ४० र महिला तर्फ १६ जना धावक सहभागी थिए। पुरस्कार स्वरूप पुरुष प्रथम, दोस्रो र तेस्रो विजेताले क्रमशः ३०, २० र १० हजार र महिला विजेताले क्रमशः १५, १० र ५ हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे।

म्याराथन फिदिम–४ स्थित ऐतिहासिक सुम्हात्लुङ गढीबाट सुरु भई क्याम्पस मोड, जोरसाल, पल्लोटार बसपार्क, शनिबार बजार, जिल्ला प्रहरी कार्यालय हुँदै गडी मन्दिरमा सम्पन्न भयो। किरात समुदायको महान पर्व उधौलीको अवसरमा लाग्ने चासोक मेलाको सन्दर्भमा आयोजना गरिएको म्याराथनमा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उपमेयर राधाकृष्ण न्यौपाने लगायतका अतिथिले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।