झापा । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो पाँच महिना (मङ्सिर मसान्त मा) झापाको मेची भन्सार कार्यालय हुँदै हुने अलैँचीको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष अलैँची निर्यात ६० दशमलव १० प्रतिशतले बढेको हो ।
भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्ममा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको २ हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ को सोही अवधिमा ३ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो ।
अलैँचीको निर्यात बढे पनि पूर्वी नाकाबाट हुने चियाको निर्यातमा भने गिरावट आएको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । यस अवधिमा १ अर्ब ८५ करोड ६२ लाख ७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ७० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।
मेची भन्सार कार्यालयका अनुसार निर्यात हुने अन्य मुख्य वस्तुहरूमध्ये मुसुरो दालको निर्यातमा ४८१ प्रतिशतको उच्च वृद्धि देखिएको छ । यस्तै, भेनीयर सिट १२९ दशमलव ९० प्रतिशत, अदुवा तथा सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोभी ३६ दशमलव १० प्रतिशत तथा छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको छ ।
तर, केही वस्तुहरूको निर्यातमा भने उल्लेख्य कमी आएको छ । तथ्याङ्कअनुसार फलामे पाताको निर्यातमा ९७ दशमलव ८० प्रतिशतले गिरावट आएको छ । यसैगरी प्लाउडको निर्यात ४६ प्रतिशत र अम्रिसोको निर्यात ३५ दशमलव ५० प्रतिशतले घटेको छ ।
मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो पाँच महिनामा यस नाकाबाट कुल १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको विभिन्न मालवस्तु निर्यात भएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।