संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा शुक्रबारदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु भएको छ ।
तमु ल्होसारको अवसर पारेर सेकाहा सामुदायिक विकास क्लबको आयोजनामा महोत्सव सञ्चालन गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सेकाहाको ऐतिहासिक महत्वलाई उजागर गर्दै यस क्षेत्रलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
महोत्सवमा विभिन्न समुदायका झाँकी, स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । साथै गाउँ अवलोकन, पर्यटकीय स्थल भ्रमण र होमस्टे प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिएको छ ।
गुरुङ समुदायको बाक्लो बसोबास रहेको सेकाहामा सामूहिक रूपमा तमु ल्होसार मनाइँदै आएको छ । यसले जातीय सद्भाव र भाइचारा अभिवृद्धि गर्ने आयोजकको विश्वास छ । आयोजक समितिका अध्यक्ष मनिराज गुरुङका अनुसार महोत्सवले स्थानीय संस्कृतिको संरक्षण गर्नुका साथै गाउँको आर्थिक स्तर उकास्न र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन टेवा पुग्ने अपेक्षा गरिएको छ । महोत्सव आगामी मङ्गलबारसम्म सञ्चालन हुनेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।