धनकुटा । पर्यटकीय क्षेत्र धनकुटाको भेडेटारमा १३औँ खानपिन महोत्सव आयोजना हुने भएको छ। होटल एसोसिएसन भेडेटारको आयोजनामा महोत्सव पुस १६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवमा स्थानीय तथा जातीय पहिचान झल्किने परिकारहरूलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। राई, लिम्बु, मगर, गुरुङ, याम्फू र नेवारी समुदायका परम्परागत खानाका परिकार महोत्सवका मुख्य आकर्षण हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। महोत्सव अवधिमा सहभागी पर्यटकले माउन्टेन बाइकिङ र प्याराग्लाइडिङको अनुभवसमेत लिन सक्नेछन्।
महोत्सवले भेडेटार क्षेत्रका स्काइवाक, पाथीभरा मन्दिर, थाकलडाँडा पिकनिक स्पट, आत्माबस्ने घर, जनजाति पार्क, नमस्ते झरना, अजंगको बरको रुख, कार्कीछाप झरना र खुवालुङ–ध्वजे पदमार्गलगायतका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले महोत्सवको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु रहेको बताए ।
खानपिन महोत्सवमार्फत समुन्नत भेडेटार विकासका लागि राज्यको ध्यानाकर्षण गराउने लक्ष्य रहेको उनको भनाइ छ। आयोजकका अनुसार महोत्सव अवधिभर करिब २ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने र ५० देखि ६० हजार पर्यटक भेडेटार भित्रिने अपेक्षा गरिएको छ।
भेडेटार नजिकै रहेको नाम्जे क्षेत्र अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले घुम्नैपर्ने १२औँ गन्तव्य सूचीमा समेटिएको क्षेत्रका रूपमा परिचित रहेको उल्लेख गर्दै यसले भेडेटारको पर्यटकीय महत्वलाई थप उचाइ दिएको आयोजकले जनाएको छ। महोत्सव अवधिमा भेडेटारमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरूले खान र बस्न १० प्रतिशतसम्म सहुलियत दिने अध्यक्ष लिम्बुले जानकारी दिए ।
भेडेटार क्षेत्रमा साना–ठूला गरी करिब २०० होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् भने यहाँका होटल–रेस्टुरेन्टमा दैनिक करिब ४ हजार आगन्तुकलाई सेवा दिन सक्ने क्षमता रहेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।