लोड हुँदैछ...

मेनु

निजी क्षेत्रलाई विश्वास गरेर मात्रै आर्थिक समृद्धि सम्भव छ, संघीयताको मर्म अनुसार अधिकार तल्लो तहसम्म पुर्‍याउँछौँ : अर्थमन्त्री खनाल

निजी क्षेत्रलाई विश्वास गरेर मात्रै आर्थिक समृद्धि सम्भव छ, संघीयताको मर्म अनुसार अधिकार तल्लो तहसम्म पुर्‍याउँछौँ : अर्थमन्त्री खनाल

विराटनगर । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई शंकाको घेरामा राखेर नभई विश्वास गरेर मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन्। बुधबार विराटनगरमा ुविराट एक्स्पोुको उद्घाटन गर्दै उनले कर प्रशासनलाई पूर्णतः प्रविधिमैत्री र झन्झटमुक्त बनाउँदै संघीयतालाई संस्थागत गर्ने प्रतिबद्धता जनाए ।

अर्थमन्त्री खनालले संघीयताको वास्तविक कार्यान्वयनका लागि केन्द्रमा रहेको शक्ति र अधिकारलाई प्रदेश तथा स्थानीय तहसम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । उनले विगतमा राजनीतिक दलको सरकारले अधिकार दिन हिचकिचाएको बताउँदै अब त्यस्तो नहुने स्पष्ट पारे ।

‘मेयर र उपमेयरहरूले कर्मचारी माग गर्दै दैनिक मन्त्रालय धाउनुपर्ने अवस्था संघीयताको मर्म विपरीत हो,’ उनले भने, ‘अब ७५३ वटै स्थानीय तहलाई अधिकारसम्पन्न बनाएर करदाता सेवा तल्लो तहसम्मै पुर्‍याइनेछ । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्नु हुँदैन ।’ उनले डेनमार्क जस्ता मुलुकको उदाहरण दिँदै संघीय मन्त्रीहरू स्थानीय तहमा ज्ञापनपत्र बुझाउन जाने वातावरण निर्माण हुनुपर्ने धारणा राखे । अन्तर(सरकारी वित्त व्यवस्थापन ऐनमा रहेका कतिपय सीमाका कारण तत्काल राजस्व बाँडफाँडको हिस्सा परिवर्तन गर्न नसकिए पनि प्रशासनिक अधिकार हस्तान्तरणमा सरकार पछि नहट्ने उनको भनाइ थियो ।

निजी क्षेत्रप्रति लक्षित गर्दै अर्थमन्त्रीले ुपूर्ण लेखापरीक्षणुको नाममा व्यवसायीलाई त्रसित बनाउने कार्य बन्द गरिएको जानकारी दिए । तथ्याङ्क विश्लेषण गर्दा पूर्ण अडिटबाट राजस्व वृद्धिमा खासै योगदान नपुगेको बरु व्यवसायीले दुःख पाएको र बिचौलिया मौलाएको पाइएकाले अब ुजोखिममा आधारित परीक्षणु प्रणाली लागू गरिएको उनले बताए ।

ूहामी व्यवसायीलाई विश्वास गर्छौँ । यदि राज्यले राम्रो पूर्वाधार, स्वास्थ्य र सुरक्षा दिन्छ भने नागरिक र व्यवसायीले कर तिर्न हिचकिचाउँदैनन्,ू उनले भने ।

आन्तरिक राजस्व विभागमा अहिले बिजनेस प्रोसेस रिइन्जिनियरिङुको काम भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले अबको कर प्रशासन पूर्ण रूपमा अनलाइन र फेसलेसु (व्यक्ति उपस्थित हुनु नपर्ने) हुने बताए । यसका लागि एस्टोनिया र दक्षिण कोरिया जस्ता मुलुकहरूले अपनाएको सफल प्रविधि र प्रणालीलाई नेपालमा पनि भित्र्याउने गृहकार्य भइरहेको उनले जानकारी दिए ।

अन्तरिम सरकारको प्रमुख एजेन्डा सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको बताउँदै उनले यो अवधिमा भ्रष्टाचारका मुद्दाहरूमा भएको प्रगतिले त्यसलाई पुष्टि गरेको दाबी गरे । उनले करदाताको लागत र समय घटाउनु नै सरकारको मुख्य उद्देश्य रहेको र सोही अनुसार भन्सार तथा राजस्व प्रशासनमा सुधारका कामहरू भइरहेको बताए ।

उनले आगामी फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचनको मिति र तयारीका विषयमा विभिन्न आशंका र हल्लाहरू बाहिर आइरहेका बेला उनले फागुन २१ को विकल्प नरहेको स्पष्ट पारे ।

खनालले निर्वाचनको मिति नसर्ने दाबी गर्दै आन्तरिक तयारी र अन्तर्राष्ट्रिय समुदायको सहयोगले पनि यसलाई पुष्टि गरेको बताए। उनले भने, ‘फागुन २१ मा निर्वाचन हुन्छ, हुन्छ। यसमा कत्ति पनि शंका नगर्नुहोस्।’

कतिपय राजनीतिक व्यक्तित्वहरूमा समेत निर्वाचनलाई लिएर आशंका रहेको प्रसंग उल्लेख गर्दै उनले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायले समेत तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएको बताए। उनले भदौ २३ र २४ को जस्तो अस्थिरता दोहोरिने खालको सरकार नचुन्न र निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन मतदातालाई आग्रह गरे।

निर्वाचनलाई थप लोकतान्त्रिक बनाउन मतपत्रमा ुनो भोटुको व्यवस्था गर्ने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए । ‘प्रत्येक नागरिकले आफ्नो सरकार छान्नुपर्छ, तर यदि कसैलाई पनि भोट दिन चाहँदैन भने त्यो विकल्प पनि खुला हुनुपर्छ भन्नेबारे कानुन बनाउने तयारी भइरहेको छ’,उनले थपे।

हिमाली जिल्लाहरूमा हिउँ पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मतदान केन्द्रहरूलाई तलमाथि सार्न सकिने गरी सुरक्षा संयन्त्रले तयारी गरिरहेको उनले बताए । कसैलाई पनि राजनीतिक अवसरबाट वञ्चित नगर्ने र निष्पक्ष निर्वाचन गराउने सरकारको मुख्य म्यान्डेट रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।