भद्रपुर । पूर्वीनाका काँकरभिट्टा भएर हुने पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा यस नाकाबाट सात अर्ब ८४ करोड ४० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको हो । मेची भन्सार कार्यालयका अनुसार यस अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, हवाई इन्धन (एटीएफ) र मट्टितेलको आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१–८२ को सोही अवधिको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थको आयात ३.१० प्रतिशत अर्थात् २३ करोड ५२ लाख रुपैयाँले बढेको छ ।
पेट्रोलियम पदार्थको आयात बढेसँगै सरकारले संकलन गर्ने राजस्वमा पनि सकारात्मक प्रभाव परेको छ । चालु आवको पहिलो पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा २.५० प्रतिशत अर्थात् ९ करोड ४२ लाख रुपैयाँले बढी हो । भन्सार कार्यालयले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकअनुसार ३ अर्ब ८२ करोड ७० लाख मूल्य बराबरको ४३ हजार १६० किलोलिटर पेट्रोल र २ अर्ब ५३ करोड १६ लाख मूल्य बराबरको २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी, सोही अवधिमा १ अर्ब १ करोड ६० लाख मूल्य बराबरको १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, ३२ करोड ८२ लाख मूल्य बराबरको ३ हजार ५८० किलोलिटर हवाई इन्धन (एटीएफ) र ६ करोड ३१ लाख मूल्य बराबरको ६८० किलोलिटर मट्टितेल आयात भएको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।