विराटनगर । विराटनगर महानगरपालिका स्तरीय ‘१८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२’ बुधबारदेखि सुरु हुने भएको छ। विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा पुस ९ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा एभरेष्ट माध्यमिक विद्यालयका प्राचार्य टिकाराम पुरीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार महानगरसँगको सहकार्यमा एभरेष्ट विद्यालयले प्रतियोगिताको संयोजन र व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ।
१५ सयभन्दा बढी विद्यार्थीको सहभागिता
प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका ६२ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहने प्राचार्य पुरीले बताए । पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता निर्देशन समितिका संयोजक एवं विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सामुदायिक र संस्थागत विद्यालयको यो सहभागिताले महानगरको शैक्षिक तथा खेलकुद क्षेत्रमा नयाँ उर्जा थप्ने विश्वास व्यक्त गरे । उनले प्रतियोगितालाई विराटनगरको पहिचानका रूपमा अगाडि बढाउन सम्पूर्ण नगरवासीको साथ र सहयोगका लागि आग्रह समेत गरे ।
प्रमुख कोइरालाले महानगरले प्रतियोगिताका लागि विनियोजन गरेको १० लाख रुपैयाँभन्दा बढी हुने खर्चको दायित्व आफैँले ग्रहण गर्दै संयोजनको जिम्मेवारी लिएकोमा एभरेष्ट माध्यमिक विद्यालयलाई धन्यवाद समेत दिए ।
१३२ पदकका लागि प्रतिस्पर्धा
महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख राम ढुंगेलका अनुसार प्रतियोगितामा छात्रतर्फ ६६ र छात्रातर्फ ६६ गरी जम्मा १३२ वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट्स लगायत ट्रयाक र फिल्डका विभिन्न खेलहरू समावेश गरिएका छन्।
प्रतियोगिताका खेलहरू विराटनगरस्थित शहीद रङ्गशाला, रङ्गशालाकै कभर्डहल र फ्युजन तेक्वान्दो तालिम केन्द्रमा सञ्चालन गरिने आयोजकले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।