विराटनगर । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि लगातार घटिरहेको नेप्से यस दिन भने उकालो लागेको हो ।
यस दिन नेप्से परिसूचक ३.२७ अंक बढेर २५८४.४९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १.५७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले वृद्धि भएको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३२८ स्टकको ९२ हजार ७४६ पटकको कारोबारमा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँ बराबरको ७६ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक ७.०१ प्रतिशत बढेको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएको सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ५.९७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको मंगलबार ३० करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सागर डिष्टिलरीको साढे ८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सिईडिबी होल्डिङ्सको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ।
बजारका १३ उपसमूहमध्ये मंगलबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक १।२८ प्रतिशतले बढेको छ। विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको नेप्सेले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।