धरान । केही समयदेखि स्थगित रहेको कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिता पुनः सञ्चालन हुने भएको छ ।
नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा हुने प्रतियोगिताको सातौँ संस्करण पुस ९ देखि १९ गतेसम्म सञ्चालन हुनेछ ।
सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिताका सबै खेलहरू नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा सञ्चालन हुनेछन् ।
प्रतियोगिता संयोजक सुरेश कुमार हायुका अनुसार धरान, सुनसरी, मोरङ र झापाका १६ वटा विद्यालय प्रतियोगितामा सहभागी हुनेछन् । डिआइजी कप फुटबल प्रतियोगिता २०५८ सालदेखि सञ्चालन हुँदै आएको भएपनि छैटौँ संस्करणपछि स्थगित भएको थियो ।
प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूह अन्तर्गत कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल धरान (रेड र ब्लु), प्रभात सेकेण्डरी बोर्डिङ स्कुल, भरौल विद्या मन्दिर, सैनिक आवासीय महाविद्यालय धरान, ज्ञानोदय माध्यमिक विद्यालय, माउन्ट हर्मन एकेडेमी, डिपोट सेकेण्डरी स्कुल, निधी सेकेण्डरी स्कुल झापा, वाल्मिकी एजुकेसन फाउन्डेसन झापा, पिनाकल ज्ञान मन्दिर मोरङ, दिल्ली पब्लिक स्कुल मोरङ, दिल्ली पब्लिक सेकेण्डरी स्कुल, बालिमिकी एमएस मोरङ, आदर्श इङ्लिस स्कुल मोरङ, सिद्धार्थ सेकेण्डरी स्कुल मोरङ र सफल सिद्धार्थ एकेडेमी मोरङ सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेता टोलीले ८१ हजार ५ रुपैयाँ र उपविजेताले ४१ हजार ५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर र बेस्ट कोचलाई जनही २ हजार ५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताका विजेता खेलाडीलाई कक्षा ११ मा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । विजेता टोलीले ट्रफी एक वर्षभित्र आयोजकलाई फिर्ता बुझाउनुपर्नेछ भने ट्रफीको सट्टामा रिप्लिका ट्रफी प्रदान गरिनेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।