विराटनगर । आईसीसी मेन्स टी–२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले आइतबार सार्वजनिक गरेको टोली विश्वकप छनोट तथा मुख्य प्रतियोगितालाई लक्षित गरी तयार गरिएको हो ।
घोषित टोलीमा शेर मल्ल, विनोद भण्डारी, इशान पाण्डे, रुपेश सिंह र अविनास बोहोरा जस्ता नयाँ खेलाडीले स्थान बनाएका छन् । नेपाल प्रिमियर लिग सिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडीलाई पनि टोलीमा अवसर दिइएको क्यानले जनाएको छ ।
टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ । प्रतियोगिताको तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण क्याम्प सोमबारदेखि सुरु हुनेछ । क्यानले केही दिनको प्रशिक्षणपछि विश्वकपका लागि अन्तिम १५ सदस्यीय टोली घोषणा गर्नेछ ।
समूह चरणमा नेपाल बंगलादेश, इङ्ल्यान्ड, इटाली र वेष्ट इण्डिजसँग एउटै समूहमा परेको छ । नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–८ मा प्रवेश गर्नेछन् । सुपर–८ बाट चार टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल खेल मार्च ८ मा हुनेछ । नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्न लागेको हो ।
प्रारम्भिक टोलीः
रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनास बोहोरा, प्रतिश जी.सी. र रुपेश सिंह ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।