विराटनगर । नेपाल चेम्बर अफ कमर्सको ७५औँ वर्ष प्रवेश ९हीरक जयन्ती० को अवसरमा मोरङ चेम्बर अफ कमर्सले मोरङको विकट क्षेत्रका विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको छ।
मोरङको केरावारी गाउँपालिका वडा नं. २, सिंहदेवीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी त्यहाँका चार वटा विद्यालयका १०४ जना विद्यार्थीहरूलाई न्यानो कपडा (स्वेटर) सेट, शैक्षिक सामग्री, स्कुल ब्याग र खाजा वितरण गरिएको हो।
मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष शिवप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केरावारी–२ का वडाध्यक्ष प्रेमबहादुर माझीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले चेम्बरले ७५ वर्ष पुगेको पावन अवसरमा विकट क्षेत्रका बालबालिकाहरूलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे।
उनले चेम्बर व्यापारी र उद्योगीहरूको हितमा मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, र कृषि क्षेत्रमा पनि सक्रिय रहँदै आएको र आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
सहयोग प्राप्त गर्ने विद्यालयहरूमा सरस्वती आधारभूत विद्यालय, जलकन्या आधारभूत विद्यालय, कल्याणकारी माध्यमिक विद्यालय र पञ्चकन्या आधारभूत विद्यालय रहेका छन्।
कार्यक्रममा मोरङ चेम्बरका महासचिव कृष्णप्रसाद दाहाल, कोषाध्यक्ष मनोजकुमार मिश्र, कार्यसमिति सदस्य सुवासप्रसाद रिजाल, र कार्यालय सचिव गोविन्दराज ढकालको सहभागिता थियो।
त्यस्तै, विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरू र प्रधानाध्यापकहरू– पूर्णबहादुर लिम्बू, लक्ष्मीमैया शाही ठकुरी, मिलन राई, यदुनाथ अधिकारी, विक्रम शाही ठकुरी, कृष्णबहादुर ठकुरी, किताव सिंह लिम्बू र निर्मला लिम्बूले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए।
सो कार्यक्रमलाई सफल बनाउन समन्वयकारी भूमिका निर्वाह गरेकी सरस्वती आ.विका पूर्व प्रधानाध्यापक मोहन अधिकारीलाई संस्थाका तर्फबाट धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।