लोड हुँदैछ...

मेनु

‘हामीलाई आलोचना स्वीकार्य छ, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुस्’

‘हामीलाई आलोचना स्वीकार्य छ, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुस्’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले आफ्नो पार्टी र नेतृत्वप्रति जनताले गर्ने आलोचनालाई आफूहरूले सहज रूपमा स्वीकार गर्ने बताएका छन् । शनिबार काठमाडौँको भृकुटी मण्डपमा आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उनले पार्टीको कामको सही मूल्याङ्कन गरेर राम्रोलाई राम्रो र नराम्रोलाई आलोचना गरिदिन आग्रह गरे ।

सम्बोधनका क्रममा सह–संयोजक नेपालले अहिलेको समय अरू पार्टीको आलोचना गरेर समय खेर फाल्ने नभई आफ्नै कमजोरीहरू सच्याएर अघि बढ्ने बेला भएको स्पष्ट पारे । “हामीले आजसम्म खेलेको भूमिकाको एक–एक मूल्याङ्कन गर्नुस्,” उनले भने, “राम्रोलाई राम्रो भन्नुस्, तर नराम्रो गर्दा आलोचना गर्नुहुन्छ भने हामी त्यसलाई स्वीकार गर्न र आफूलाई सुधार्न तयार छौँ ।”

नेता नेपालले पार्टीभित्र हुर्किरहेका गलत प्रवृत्तिप्रति पनि कडा प्रहार गरे । उनले कुरा मात्र ठुला गर्ने तर काम नगर्ने, नेताको वरिपरि घुमेर चाकरी गर्ने तर जनताको बीचमा नजाने नेता–कार्यकर्तालाई अब छुट दिन नसकिने चेतावनी दिए । उनले भने, “हामी नेता र कार्यकर्तालाई असल बनाउन लागिपरेका छौँ । जिम्मेवारी पुरा नगर्ने र जनतासँग नभिज्ने प्रवृत्तिले पार्टी चल्दैन ।”

आफ्नो पार्टीले गणतन्त्र स्थापना, संविधान निर्माण र देशको विकासका योजनाहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै उनले एक पटक देश विकासका लागि आफ्नो पार्टीलाई मौका दिन जनतासँग आग्रह गरे । “हामी इमानदारिता, देशभक्ति र सेवाको भावनालाई केन्द्रमा राखेर अगाडि बढेका छौँ,” उनले थपे, “हाम्रो अभियान नयाँ नेपाल निर्माण गर्ने हो र यसका लागि हामी जनतासँग एकाकार हुन चाहन्छौँ ।”

७७ वटै जिल्ला र स्थानीय तहमा पार्टीका कार्यक्रमहरू भइरहेको जानकारी दिँदै उनले एकताको सन्देश लिएर गाउँ–गाउँमा जान कार्यकर्ताहरूलाई निर्देशन समेत दिए । विचारलाई जनताको बीचमा लैजाने यो अभियानले पार्टीलाई अझ मजबुत बनाउने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।