विर्तामोड । झापा जिल्लामा चालु आर्थिक वर्ष २०८२–८३ को मंसिर मसान्तसम्म ४ सय ९६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा उद्योगतर्फ २४३ र वाणिज्यतर्फ २५३ फर्म दर्ता भएका हुन् ।
सो अवधिमा जिल्लामा उद्योगतर्फ ५ सय र वाणिज्यतर्फ ४७९ उद्योग नवीकरण गरिएको कार्यालयले जनाएको छ । चालु आवको पहिलो पाँच महिनामा उद्योगतर्फ १०८ र वाणिज्यतर्फ ७७ उद्योग खारेज भएका छन् । यस्तै, १२ उद्योगको ठाउँसारी, २८ उद्योगको नामसारी, १८ उद्योगको नाम परिवर्तन तथा ३६ उद्योगले उद्देश्य थप गरेको कार्यालयले जनाएको छ ।
भट्टराईका अनुसार कार्यालयमा आएर औपचारिक रूपमा उद्योग बन्द गराउनेको संख्या कम भएपनि नवीकरण नगरेका अधिकांश उद्योग व्यवहारिक रूपमा बन्द भइसकेका छन् । विभिन्न कारणले उद्योग बन्द हुने क्रम रहेपनि नयाँ उद्योग थपिनेको संख्या तुलनात्मक रूपमा बढ्दै गएको उनले बताए ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विभिन्न शीर्षकमार्फत ८८ लाख ८५ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।