विराटनगर । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेकै अवस्थामा ज्यान गुमाएका कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले शालिक स्थापना गर्ने भएको छ। नगरपालिकाको कार्यपालिका बैठकले जोशीको सम्मानमा शालिक निर्माण गर्ने र मुख्य चोकको नामकरण गर्ने औपचारिक निर्णय गरेको हो।
भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीका अनुसार विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकलाई अब ‘विपिन जोशी चोक’ नामकरण गरिनेछ। सोही स्थानमा उनको शालिक निर्माणका लागि नगरपालिकाले तत्कालका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। विनियोजित रकम अपुग हुने देखिएकाले आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्था गरेर शालिक स्थापना कार्यलाई पूर्णता दिइने वडाध्यक्ष धामीले जानकारी दिए। यसअघि नगरप्रमुख पदम बोगटीले विपिनको स्मृतिमा शालिक बनाउने प्रतिबद्धता जनाएका थिए।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत विपिन दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। इजरायल पुगेको महिना दिन नपुग्दै हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो। बन्धक बनाएकै अवस्थामा उनको निधन भएको थियो। केही समयअघि इजरायल र हमासबीच भएको समझदारीपछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो। आफ्ना जेहेन्दार विद्यार्थीको बलिदान र सम्झनालाई जीवन्त राख्न नगरपालिकाले यो कदम चालेको हो।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।