काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् एक भावुक सन्देश लेख्दै उनले आफ्नो ५० वर्ष लामो राजनीतिक यात्रामा पूर्णविराम लगाएको घोषणा गरेका हुन्।
आफ्नो आधा शताब्दी लामो राजनीतिक जीवनमध्ये ४४ वर्ष पूर्णकालीन भएर काम गरेका अधिकारीले एमालेको केन्द्रीय कमिटीमा मात्रै लगातार ३३ वर्ष बिताएका थिए। सक्रिय राजनीतिबाट अलग हुने निर्णय सुनाउँदै उनले लेखेका छन्, ‘जति दिन काम गरेँ, पूरा मनले गरेँ। इमान, निष्ठा र समर्पणका साथ गरेँ। तन, मन र धनसमेत दिएर निःशर्त तथा निःस्वार्थ रूपमा गरेँ।’
अधिकारीले आफूलाई ुनेताु भन्दा पनि कार्यकर्ता भन्न रुचाएका छन्। उनले अगाडि लेखेका छन्, ‘एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि म कहिल्यै नेता थिइनँ। म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ। समाज बदल्न हिँडेको वास्तविक झोले कार्यकर्ता थिएँ।’
पद र अवसरका लागि कहिल्यै मरिहत्ते नगरेको दाबी गर्दै उनले आफू ुल्याङल्याङेु कार्यशैलीको विरोधी रहेको र सुम्पिएको जिम्मेवारी जसरी पनि पूरा गर्ने स्वभावको रहेको उल्लेख गरेका छन्। ६६ वर्षको उमेरमा सक्रिय राजनीतिबाट विश्राम लिँदा आफूमा कुनै गुनासो नरहेको र नेतृत्वप्रति आभार व्यक्त गर्दै खुसीसाथ विदा भएको उनले बताएका छन्।
सपना असल कम्युनिष्ट बन्ने थियो, तर सबै मानकहरू पूरा गर्न सकिनँ, उनले भनेका छन्, ‘अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन। साधारण सदस्य रहेर पार्टी, समाज र देशको हितमा यथासम्भव काम गरिरहनेछु।’ लामो राजनीतिक यात्राका क्रममा आफूबाट भएका भूलचुकहरूप्रति उनले सबैसँग क्षमायाचना समेत गरेका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।