लोड हुँदैछ...

मेनु

एमालेको ३०१ सदस्यीय केन्द्रीय समितिमा पोखरेल समूहका एक दर्जन मात्र !

एमालेको ३०१ सदस्यीय केन्द्रीय समितिमा पोखरेल समूहका एक दर्जन मात्र !

विराटनगर । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व परिवर्तन हुनुपर्ने नारासहित प्रतिस्पर्धामा उत्रिको ईश्वर पोखरेल समूह केन्द्रीय समितिबाटै करिब बढारिएको छ ।

एमालेको १९ सदस्यीय पदाधिकारीमा एक उपाध्यक्ष र एक उपमहासचिवमा पोखरेल समूहका उम्मेदवार बिजयी बन्दा ३०१ सदस्यीय केन्द्रीय समितिमा पोखरेल पक्षका एक दर्जन हाराहारी उम्मेदवार मात्र विजयी भए ।

बिहीबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भए । अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेलले भारी मतान्तरले पराजित हुँदा उपाध्यक्षमा ओली समूहका गुरुराज बराललाई पछि पार्दै विष्ट र उपमहासचिवमा ओलीका विश्वासपात्र विष्णु रिमाललाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् ।

पोखरेल समूहमा पदाधिकारीतर्र्फ उम्मेदवार रहेका १९ जनामध्ये विष्ट र भट्टराईबाहेक १० जना केन्द्रीय सदस्यमा विजयी भएका छन् । बाँकी ७ जना केन्द्रीय सदस्यमा पनि पराजित भए ।

एमालेमा पदाधिकारीको उम्मेदवार स्वतः केन्द्रीय सदस्यको खुल्लातर्फ उम्मेदवार हुने प्राबधान छ । पदाधिकारीमा विजयी भएमा केन्द्रीय सदस्यमा उसले पाएको मत गणना हुँदैन भने पदाधिकारी पराजित हुँदा केन्द्रीय सदस्यको मत गणना हुन्छ । यसरी भएको गणनामा अध्यक्षमा पराजित पोखरेल १०८८ मतसहित केन्द्रीय सदस्यमा भने विजयी भएका छन् ।

पोखरेल समूहबाट उपाध्यक्षमा पराजित बिन्दा पाण्डे पनि ११२१ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । सो समूहका उपाध्यक्षका उम्मेदवारहरु अरुण नेपाल, टंक कार्की र परशुमेघी गुरुङ भने केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

पोखरेल समूहका योगेश भट्टराई १३४८ मतसहित उपमहासचिवमा विजयी भन्दा सो समूहका उपमहासचिवका अर्का उम्मेदवार आनन्द पोखरेल उपमहासचिवमा पराजित भएपनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनले केन्द्रीय सदस्यमा ९९७ मत प्राप्त गरे । सो समूहका उपमहासचिवका अर्का उम्मेदवार बैजनाथ चौधरी भने केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

पोखरेल समूहबाट सचिवमा पराजित भएका अग्नि खरेल, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, गोकूल बाँस्कोटा, ठाकुर गैरे र रचना खड्का केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा खरेलले ११३५, थापाले १०२६, श्रेष्ठले ९९४, बाँस्कोटाले ११९५, गैरेले १२८४ र खड्काले ११२४ मत प्राप्त गरेका छन् । सो समूहका सचिवका उम्मेदवारहरु पुरुषोत्तम पौडेल, विनोद ढकाल र इन्द्रलाल सापकोटा भने केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

यस्तै पोखरेल समूहका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे पनि महासचिवसँगै केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । महासचिवमा शंकर पोखरेलसँग उनी पराजित भएका थिए । महासचिवमा ९९९ मत पाएका उनले केन्द्रीय सदस्यमा भने त्योभन्दा कम ९६१ मत प्राप्त गरेर पराजित भए । खुल्ला केन्द्रीय सदस्यमा ९९४ सम्म मत प्राप्त गरेका उम्मेदवार विजयी भएका छन् ।

केन्द्रीय समितिमा भुगोलतर्फ पोखरेल समूहका कोही पनि उम्मेदवार विजयी भएनन् । खुल्लातर्फ भने ओली समूहले पनि सुचीमा राखेका उम्मेदवार पोखरेल समूहको सुचीमा रहेका थिए । त्यसैले उनको समूहका कति विजयी भए भन्ने यकिन छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds