लोड हुँदैछ...

मेनु

एक महिनामा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी संकलन

एक महिनामा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा मंसिर महिनामा मात्रै ७५ लाख ४९ हजार रुपैयाँ भेटी संकलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार यस अवधिमा १९ हजार १८१ जना तीर्थयात्रीले पाथीभरा मन्दिरको दर्शन गरेका छन्।

संकलित भेटी आठ किस्तामा नेपाल बैंक लिमिटेडमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। उनका अनुसार गत वर्षको यही महिनाको तुलनामा यस वर्ष भेटी संकलन करिब ३५ लाख रुपैयाँले बढेको हो।

गत वर्ष मंसिर महिनामा ४१ लाख १७ हजार रुपैयाँ भेटी संकलन भएको थियो भने २१ हजार १८० जना तीर्थयात्री पाथीभरा पुगेका थिए। यो वर्ष तीर्थयात्रीको संख्या केही घटेपनि भेटी रकम उल्लेख्य रूपमा बढेको समितिको तथ्यांकले देखाएको छ।

पाथीभराको माथिल्लो फेदीदेखि मन्दिरसम्म चढाइएका भेटी कर्मचारीमार्फत संकलन गर्ने गरेका छन् । संकलित रकम माथिल्लो फेदीस्थित अस्थायी प्रहरी चौकीमा राखिने र त्यहाँबाट काफ्लेपाटीसम्म मानिसले बोकेर तथा काफ्लेपाटीबाट सदरमुकाम फुङलिङसम्म सवारी साधनमार्फत ल्याइने व्यवस्था रहेको छ।

जिल्ला समन्वय समितिमा रहेको क्षेत्र विकास समितिको कार्यालयमा भेटी गणना गरिन्छ । गणनापछि आवश्यकता अनुसार बैंकमा जम्मा गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।