विराटनगर । ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको विराटनगर–१८ स्थित भेडियारीमा रहेको विराट राजाको दरबार क्षेत्र मानिने स्थानमा भेटिएको दुई हजार वर्ष पुरानो संरचनाको संरक्षण कार्य सुरु गरिएको छ । पुरातत्व विभागले ऐतिहासिक ‘भेडियारी ढिस्को’ को उत्खनन्बाट प्राप्त ईसाको पहिलो र दोस्रो शताब्दीका संरचनाहरूलाई थप क्षति हुन नदिन संरक्षणको काम थालेको हो ।
विभागले २०२७ सालमा पहिलो पटक र २०७८ सालमा पुनः उत्खनन् गर्दा यहाँ प्राचीन पर्खाल तथा कक्षहरू भेटिएका थिए । वर्षा, घाम र मानवीय गतिविधिका कारण जीर्ण बन्दै गएको उक्त संरचनालाई सुरक्षित राख्न अहिले ‘कन्जर्भेसन’ (संरक्षण) को काम भइरहेको छ । संरक्षण कार्यअन्तर्गत पुराना संरचनामाथि ‘जियो टेक्सटाइल’ (विशेष कपडा) बिछ्याएर नयाँ इँटाले छोप्ने र पानी नछिर्ने गरी ‘वाटर टाइट’ बनाउने काम भइरहेको छ ।
दरबार कि मन्दिर ?
स्थानीय जनविश्वास अनुसार यो स्थानलाई महाभारतकालीन विराट राजाको दरबार मानिए पनि पुरातात्विक अध्ययनले यसलाई मन्दिरको संरचना हुन सक्ने संकेत गरेको छ ।
लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत तथा यस साइटमा खटिएका पुरातत्वविद् हिमालकुमार उप्रेती भन्छन्, ‘‘२०२७ सालमा वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्रले गर्नुभएको उत्खनन् प्रतिवेदन अनुसार यहाँ मन्दिरको गर्भगृह रहेको र यो दुई चरणमा निर्माण भएको देखिन्छ । पहिलो चरणमा शुंग काल (दोस्रो शताब्दी ई.पू.) र दोस्रो चरणमा कुषाण काल (पहिलो शताब्दी ई.) मा यी संरचना बनेको पाइएको छ ।’’

उनका अनुसार अहिले देखिएका अधिकांश इँटाहरू कुषाणकालीन हुन् । २०७८ सालको उत्खनन् र ‘जियोफिजिकल सर्भे’ले यो क्षेत्रमा ४६ फिट लम्बाइ र ४५ फिट चौडाइ भएको ठूलो संरचनाको जग रहेको देखाएको छ ।
संरक्षणको प्रविधि र सामग्री
अहिले भइरहेको काम पुनर्निर्माण नभई संरक्षण मात्र हो । जमिनमुनि दबिएर रहेका पर्खालहरू बाहिर देखिँदा मौसमको प्रभावले छिटो बिग्रने खतरा हुन्छ । त्यसैले पुराना इँटालाई सुरक्षित राख्न त्यसमाथि नयाँ इँटाको प्रयोग गरिँदैछ ।
पुरातत्वविद् उप्रेतीले भने, ‘‘हामीले पुराना पर्खाल भत्किएको वा बाङ्गो छ भने त्यसलाई सोझो बनाउँदैनौं । जुन अवस्थामा भेटिएको छ, त्यही अवस्था (एज इट इज) मा संरक्षण गर्छौं । पुरानो र नयाँ संरचना छुट्याउन बिचमा ‘जियो टेक्सटाइल’ राख्छौं, ताकि भोलि अध्ययन गर्दा पुरानो भाग कुन हो भनेर सजिलै थाहा पाइयोस् ।’’
संरक्षणका लागि प्रयोग गरिने इँटा र मसला पनि विशेष प्रकारका छन् । सिमेन्टको प्रयोग नगरी प्राचीन शैलीमै सुर्खी (इँटाको धुलो), चुना र बालुवाको मिश्रण प्रयोग गरिएको छ । यहाँ प्रयोग गरिएका इँटाहरू आधुनिक इँटाभन्दा धेरै ठूला छन् ।
पुरातत्व विभागका कर्मचारी हरिप्रसाद भुसालका अनुसार यहाँ प्रयोग गरिएका इँटाहरू काठमाडौँबाट विशेष अर्डरमा ल्याइएको हो । ‘‘यी इँटाहरूको साइज ३२ देखि ४० सेन्टिमिटरसम्म लम्बाइका छन् । लुम्बिनीमा प्रयोग हुने गुणस्तरकै इँटा यहाँ ल्याइएको छ,’’ भुसालले भने ।
कहिलेसम्म चल्छ काम ?
हालको चरणमा भेडियारीको मुख्य संरचनाको माथिल्लो भागलाई पानीले नबिगार्ने गरी छोप्ने (क्यापिङ गर्ने) काम भइरहेको छ । करिब ८ जना कामदार र प्राविधिक टोली खटिएको यो काम पुसे १५ गतेसम्म चल्ने बताइएको छ ।
‘‘यो संरचनालाई अहिलेकै अवस्थामा जोगाएर राख्नु हाम्रो मुख्य चुनौती हो । यसलाई माटोले पुरेर राख्दा सुरक्षित त हुन्छ, तर पर्यटकीय हिसाबले मानिसले हेर्न पाउँदैनन् । त्यसैले नबिग्रने गरी केही भाग माथि उठाएर देखाउन मिल्ने बनाउँदैछौं,’’ उप्रेतीले भने ।

संरक्षणको काम सकिएपछि यो क्षेत्र खुला संग्रहालयका रूपमा विकास हुने र अवलोकनकर्ताले २ हजार वर्ष पुरानो इतिहास प्रत्यक्ष देख्न पाउने विश्वास गरिएको छ । विगतमा भारतको कपिलवस्तु लगायतका क्षेत्रमा प्रयोग भएको संरक्षण शैली नै यहाँ अपनाइएको छ ।
अहिले भइरहेको कामले ऐतिहासिक सम्पदाको आयु लम्ब्याउने र भावी पुस्ताका लागि इतिहास जोगाइराख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । विभागले बजेट र जनशक्ति व्यवस्थापन गर्दै आगामी वर्षहरूमा पनि थप संरक्षणका काम निरन्तर अघि बढाउने योजना बनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।