लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशन : २२ घण्टापछि सकियो मतदान, २ हजार २ सय २७ मत खस्यो

एमाले महाधिवेशन : २२ घण्टापछि सकियो मतदान, २ हजार २ सय २७ मत खस्यो

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लामो समय लगाएर सम्पन्न भएको छ ।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ मतदाता रहेकोमा २ हजार २ सय २७ मत खसेको छ । यो कुल मतदाता संख्याको ९८.०४ प्रतिशत हो ।

बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया आज बिहीबार बिहान ७ बजे सकिएको हो । मतदानमा अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सबैभन्दा पहिले मतदान गरेका थिए भने नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।

यसअघि निर्वाचन कार्यतालिका पटक पटक संशोधन भएको थियो । पुस १ गतेका लागि तय भएको मतदान प्राविधिक कारण देखाउँदै पुस २ गते बिहानलाई सारिएको थियो । बुधबार बिहान ८ बजे तोकिएको समयभन्दा डेढ घण्टा ढिलो गरी ९ बजेमात्र मतदान सुरु भएको थियो ।

मुख्य पदमा रोचक प्रतिस्पर्धा
महाधिवेशनमा नेतृत्वका लागि रोचक प्रतिस्पर्धा देखिएको छ । पार्टीको अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन् । त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।
विधानअनुसार ५ जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ भने ३ जना निर्वाचित हुने उपमहासचिव पदमा ६ जनाले उम्मेदवारी दिएका छन् ।

सबैभन्दा बढी आकर्षण र प्रतिस्पर्धा सचिव पदमा देखिएको छ । ९ सिट रहेको सचिव पदका लागि गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राई लगायत २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमालेको महाधिवेशन २८ गतेदेखि भृकुटीमण्डपमा बन्दसत्रमा प्रवेश गरेको थियो । बन्दसत्र पनि अध्यक्ष ओलीको केन्द्रीय कमिटी बैठकका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो ।

मङ्सिर २८ गते बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौमा गोदावरीमा सम्पन्न विधान महाधिवेशनको निर्णयलाई उल्ट्याउँदै पदाधिकारीको संख्या हेरफेर गरेको थियो । अध्यक्ष ओलीले पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै नयाँ प्रस्ताव राखेका थिए । जसअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना बनाउने निर्णय गरिएको थियो । वरिष्ठ उपाध्यक्ष पद भने थपिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds