लोड हुँदैछ...

मेनु

पाँचथरको लालीखर्कस्थित ‘ताया रुङरि खिम’ले पर्यटक तान्दै

पाँचथरको लालीखर्कस्थित ‘ताया रुङरि खिम’ले पर्यटक तान्दै

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थलका रूपमा विकसित हुँदै गएको छ। पछिल्लो समय सो स्थान आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ।

किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति, वनस्पति, सुप्तुलुङ चुलालगायत संरचना समेटिएको यो स्थलमा उद्यान निर्माण गरिएको छ । त्यसपछि बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। नेपाल एकीकरणअघिदेखि माझ किराँत क्षेत्रमा बसोबास गर्दै आएका किराँत राई समुदाय पूर्वतर्फ सर्ने क्रममा आफ्नो भाषा, संस्कार र संस्कृति बिर्सिँदै गएको सन्दर्भमा पहिचान जोगाउने उद्देश्यले यो संरचना निर्माण गरिएको हो ।

ताया रुङरि खिमका अध्यक्ष भक्तबहादुर राईका अनुसार राई वान्तवा भाषामा ‘ताया’को अर्थ ज्ञान वा बुद्धि, ‘रुङरि’को अर्थ शक्ति र ‘खिम’को अर्थ घर हुन्छ। यसरी ज्ञान र शक्ति प्रदान गर्ने घरका रूपमा यो उद्यानको अवधारणा अघि बढाइएको उनले बताए।

माझ किराँत अन्तर्गत भोजपुर, खोटाङलगायत जिल्लाबाट बसाइँ सरी राई समुदाय पाँचथर आइपुगेको इतिहास रहेको उल्लेख गर्दै अध्यक्ष राईले पूर्वतर्फ जाँदै गर्दा भाषा र संस्कार झन्–झन् हराउँदै गएको देखेपछि नयाँ पुस्तालाई पहिचानबारे जानकारी दिन उद्यान निर्माण गरिएको हो । मेची राजमार्गअन्तर्गत सुम्निमा चोकभन्दा केही माथि करिब १० रोपनी क्षेत्रफलमा निर्माण गरिएको उद्यान आसपासका वडा तथा बस्तीका राई समुदायका लागि पायक पर्ने केन्द्रिय स्थानमा रहेको छ।

लालीखर्क वरपर फिदिम नगरपालिकाका वडा नम्बर १, २, ५, ६ र ७ मा समेत राई समुदायको बाक्लो बसोबास रहेकाले सबैलाई समेट्ने गरी उद्यान निर्माण गरिएको अध्यक्ष राईको भनाइ छ। उद्यानमा प्रकृति र संस्कृति झल्काउने संरचना, परम्परागत खेलकुद सामग्री, बाल उद्यानसहित चार प्रकारका सामग्री समावेश गरिएको छ।

प्राकृतिक पार्क ‘खामलिखाला खिम’ क्षेत्रमा राई समुदायको जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग हुने वनस्पति रोपिएको छ। ती वनस्पतिको नाम र प्रयोगसम्बन्धी जानकारीसमेत स्पष्ट रूपमा राखिएकाले यो स्थल अध्ययन र अवलोकनका लागि पनि महत्वपूर्ण बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।