लोड हुँदैछ...

मेनु

काँग्रेस क्रियाशील सदस्यतामा धाँधली अस्वीकार्य : कोइराला

काँग्रेस क्रियाशील सदस्यतामा धाँधली अस्वीकार्य : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले तोकेको मितिमा निर्वाचन नभए मुलुकमा संवैधानिक संकट आउने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकारले फागुन २१ का लागि तोकेको निर्वाचन सम्पन्न हुनै पर्ने धारणा राखे । उनले भने, ‘यदि तोकिएको मितिमा चुनाव भएन भने देशमा संवैधानिक संकट आउँछ र संसद् पुनःस्थापनाको माग बलियो भएर जान्छ ।’

काँग्रेसको धारणा फागुन २१ मै चुनाव हुनुपर्छ भन्ने रहेको बताउँदै डा. कोइरालाले चुनाव नहुँदा संसद पुनःस्थापना भए मात्रै संविधान ट्र्याकमा आउने बताए । अब चुनाव वा संसद् पुनःस्थापनाको बाटोबाटै निकास खोज्नुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेस चुनावका लागि पूर्ण रूपमा तयार रहेको उनको भनाइ थियो ।

पार्टीको १५औँ महाधिवेशनको सन्दर्भमा बोल्दै नेता कोइरालाले क्रियाशील सदस्यता वितरणमा देखिएको बेथितिप्रति चिन्ता व्यक्त गरे । सिरियल नम्बर नभएका र प्रक्रिया नपुर्याई वितरण गरिएका क्रियाशील सदस्यता खारेज गरिएको उनले जानकारी दिए । ‘सिरियल नम्बर नभएको क्रियाशील सदस्यता फारम कसैले नभर्नुहोला, त्यस्ता सदस्यता स्वीकार्य हुँदैनन्,’ कोइरालाले भने, ‘सभापतिजीसँगको छलफलपछि त्यस्ता सदस्यता क्यान्सिल भएका छन् । अब नयाँ र वैध सदस्यता आउन केही समय लाग्न सक्छ, जसले महाधिवेशनको कार्यतालिकामा केही ढिलाइ हुन सक्छ ।’

आगामी महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा कति जनाको उम्मेदवारी रहन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा डा. कोइरालाले यस विषयमा धेरै चिन्ता नलिन आग्रह गरे । उनले भने, ‘यो विषयमा तपाइँहरूले अहिले नै चिन्ता गर्नु पर्दैन, समय आएपछि हामी निर्णय गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds