विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस इलामले आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाउँदै केन्द्रमा सिफारिस गरेको छ।
जिल्लाका दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न चाहने ११ जना आकांक्षीहरूको नाम जिल्ला कार्यसमितिले अघि सारेको हो। सिफारिस सूचीमा पुराना तथा प्रभावशाली नेताहरूसँगै केही नयाँ अनुहारसमेत समेटिएका छन्।
नेता केशव थापाको नाम इलामका दुवै निर्वाचन क्षेत्र (क्षेत्र नम्बर १ र २) बाट प्रत्यक्षतर्फ सिफारिस हुनुलाई चासोका साथ हेरिएको छ। थापा यसअघि तीन निर्वाचन क्षेत्र हुँदा क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसांसद हुन्।
क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ। जसमा निस्कल राई, केशव थापा, टिकाराम सुब्बा लेप्चा, डम्बर खड्का, भुपेन्द्र कट्टेल, हरिप्रसाद लुइँटेल र नगेन्द्र बुढाथोकी रहेका छन्। आकांक्षीमध्ये टिकाराम सुब्बा लेप्चा संविधानसभामा समानुपातिक सदस्य रहिसकेका नेता हुन्। यसैगरी, यस क्षेत्रबाट समानुपातिकतर्फ चक्र (अविशेक) एक्तेन, भिष्म प्रधान, अनिता श्रेष्ठ र कुसुम दहालको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको यस क्षेत्रमा भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्दम र ईश्वर चिपालु रहेका छन्। यहाँबाट सिफारिस भएका नगेन्द्र कुमाल यसअघि समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भइसकेका छन्।
क्षेत्र नम्बर २ को समानुपातिकतर्फ भने कांग्रेसले पूर्वसांसद सुजाता परियारसहित ७ जनाको नाम पठाएको छ। परियार यसअघि दुईपटक सांसद बनिसकेकी छिन्। समानुपातिक सूचीका अन्य सदस्यहरूमा माधव चौलागाईं, प्रेमिका रानामगर, धनमान बराइली, शान्तिकला राई तामाङ, निर्मला सन्जेल र भुवानीशमशेर राई रहेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।