विराटनगर । बुधबार नेप्से परिसूचक बढेर २६२५.७० विन्दुमा पुगेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
यस दिन नेप्से परिसूचक ५.७० अंकले बढेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१८ अंक, फ्लोट इण्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंकले बढेको छ ।
यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ। मंगलबार ३ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा बुधबार ३३२ स्टकको ५८ हजार ९६ पटकको कारोबारमा ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँबराबर ८५ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य साढे ८ प्रतिशतभन्दा धेरै बढेको छ भने चिरख्वा हाइड्रोपावरको शेयर मूल्य करिब साढे ५ प्रतिशतले बढेको छ । कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिकको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमको आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ७८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ भने ङादी ग्रुप पावरको करिब साढे ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
बजारका १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १।७५ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।