ओखलढुंगा । युगकवि सिद्धिचरण श्रेष्ठले ओखलढुंगाको अनुपम सौन्दर्य र विशिष्टतालाई समेटेर कविता कोरेका थिए— ‘मेरो प्यारो ओखलढुंगा…।’ कविका ती शब्दहरूले भनेझैँ, ओखलढुंगा साँच्चै सुन्दर, शान्त र मनमोहक छ ।
आज पनि यहाँको माटोको सुगन्ध, हरियाली फाँट र जीवनको सरल सौन्दर्य उस्तै जीवन्त छ । यद्यपि, यसको विशेषता र सौन्दर्यलाई केवल शब्दमा बयान गर्नु सधैँ अपुरो नै लाग्छ ।
मैले फोटोग्राफीको यात्रा सुरु गर्दा एउटा सानो तर गहिरो सपना बोकेको थिएँ— कुनै दिन आफ्नै जन्मभूमिको हरेक कुनामा पुग्ने, ती गाउँ, फाँट, चौतारी, खोला–झरना र बादलबीच लुकेका सौन्दर्यहरूलाई क्यामेरामा कैद गर्ने । आज त्यो सपना बिस्तारै साकार हुँदै गएको अनुभूति भइरहेको छ ।
पहाडमाथिबाट सूर्यको पहिलो किरण झर्दा रुम्जाटार उज्यालिन्छ । हरियाली टारहरूमा हावासँग लहरिने धानका बालामा समृद्धिको सुगन्ध मिसिएको देखिन्छ । बिहानको घाममा सुनौला बालाहरू टल्कँदा ओखलढुंगाको वास्तविक आत्मा झल्किन्छ ।
खोला र झरनाको मधुर आवाज यहाँको प्राकृतिक संगीत हो, जसले शब्दभन्दा बढी अनुभूति बोल्छ ।
युगकवि सिद्धिचरण श्रेष्ठले ओखलढुंगाको आत्मालाई शब्दमा बाँध्ने प्रयास गरे । मैले भने त्यही आत्मालाई प्रकाश र रङको फ्रेममा कैद गर्ने प्रयास गरेको छु । हरेक क्यामेरा क्लिकसँगै मनभित्र युगकविको त्यही कविता गुनगुनाइरहन्छ— ‘मेरो प्यारो ओखलढुंगा…।’





























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।