लोड हुँदैछ...

मेनु

पाँच महिनामा सुनसरी यातायातले उठायो ३९ करोड राजश्व

पाँच महिनामा सुनसरी यातायातले उठायो ३९ करोड राजश्व

इटहरी । गत भदौको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा ठूलो क्षति भोगेको सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी)ले चालू वर्षमा ३९ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख मानबहादुर देवकोटाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ३९ करोड ४७ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

आन्दोलनपछिको असहज परिस्थितिबीच करिब ४० करोड रुपैयाँ राजस्व उठाउन कार्यालय सफल भएको हो । कार्यालयका अनुसार सवारीसाधन करतर्फ ३३ करोड ३६ लाख रुपैयाँ, यातायात क्षेत्रको आम्दानीतर्फ १ करोड ९८ लाख रुपैयाँ, चालक अनुमति पत्र तथा दर्ता किताब दस्तुरतर्फ ४ करोड १२ लाख रुपैयाँ र व्यवसाय रजिस्ट्रेसनतर्फ ३६ हजार रुपैयाँ संकलन भएको छ ।

आन्दोलनका क्रममा भएको आगलागीबाट कार्यालयका करिब ९५ प्रतिशत सवारीसाधनसम्बन्धी अभिलेख जलेर नष्ट भएको छ । ट्रयाक्टर शाखाबाहेक करिब १२ लाख सवारीसाधनका अभिलेख नष्ट भएको कार्यालयले जनाएको छ। ब्लुबुक तथा अन्य महत्वपूर्ण कागजात जलेपछि सेवाग्राही र कर्मचारी दुवैले दोहोरो झन्झट खेप्नुपरेको छ ।

भवनमा क्षति भएपछि हाल त्रिपाल र अस्थायी कोठाबाट सञ्चालन भइरहेको छ। दैनिक एक हजारभन्दा बढी सेवाग्राही पुग्ने कार्यालयमा उभिएरै सेवा लिनुपर्ने बाध्यता रहेको छ । जसले गर्दा कर्मचारी र सेवाग्राही दुवैले सास्ती भोगिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।