लोड हुँदैछ...

मेनु

प्याब्सन प्रेसिडेन्ट कप यू–१५ फुटबलको उपाधि मोर्डन एरालाई

प्याब्सन प्रेसिडेन्ट कप यू–१५ फुटबलको उपाधि मोर्डन एरालाई

विराटनगर । ‘प्याब्सन प्रेसिडेन्ट कप यू–१५ फुटबल प्रतियोगिता’ को उपाधि विराटनगरस्थित मोर्डन एरा स्कुलले जितेको छ ।

विराटनगरको जुटमिल खेल मैदानमा मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा ग्रेडेड स्कुललाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै मोर्डन एराले उपाधि हात पारेको हो ।

निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको थियो । फाइनल खेलको ‘म्यान अफ द म्याच’ मोर्डन एराका सुसान्त रोइला घोषित भए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत पुरस्कार समेत प्रदान गरिएको छ । जसअनुसार ‘बेस्ट डिफेन्डर’ ग्रेडेडका निखिल टुडु, ‘बेस्ट गोलकिपर’ ग्रेडेडकै तारानाथ पोखरेल र ‘प्लेयर अफ द टुर्नामेन्ट’ ग्रेडेडकै सृजन श्रेष्ठ घोषित भए ।

त्यस्तै, ‘बेस्ट कोच’ मोर्डन एराका सञ्जीव भट्टराई, ‘हाई स्कोरर’ मोर्डन एराका रोसिक राई र ‘फेयर प्ले’ को उपाधि गोदावारी स्कुलका आर्यन निरौलाले प्राप्त गरे ।

मंसिर २५ देखि पुस १ गतेसम्म सञ्चालित प्रतियोगितामा विराटनगर भरिका २४ विद्यालयहरूको सहभागिता रहेको कार्यक्रम संयोजक दिनेश ढुंगानाले जानकारी दिए । ‘स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्याब्सन विराटनगरले हरेक वर्ष यू–१५ फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।

विजयी खेलाडी तथा टिमलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, जिल्ला उपाध्यक्ष विष्णु डंगोल, प्याब्सन विराटनगर महानगर अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अशोक लामालगायतले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।