लोड हुँदैछ...

मेनु

सुख्खायाममा विद्युत आपूर्ति सुनिश्चित गर्न उद्योग संगठन मोरङको माग

सुख्खायाममा विद्युत आपूर्ति सुनिश्चित गर्न उद्योग संगठन मोरङको माग

विराटनगर । उद्योग संगठन मोरङले नजिकिँदै गरेको सुख्खा मौसममा उद्योग–व्यवसाय क्षेत्रका लागि आवश्यक विद्युत आपूर्तिको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ । संगठनको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी आर्थिक क्षेत्रसँग सम्बन्धित माग राखेको हो।

भेटका क्रममा संगठनले सुख्खायाममा उद्योगहरूमा हुन सक्ने विद्युत कटौतीले उत्पादनमा प्रत्यक्ष असर पार्ने भन्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन आग्रह गरेको छ। विद्युत आपूर्तिको विषयलाई प्राथमिकताका साथ उठाउँदै टोलीले सुनसरीको बर्जुमा निर्माणाधीन सब–स्टेसनको काम अविलम्ब सम्पन्न गर्न र सुनसरी–मोरङ–कटहरी औद्योगिक करिडोरका जीर्ण ट्रान्समिसन लाइनहरूको तत्काल मर्मत–सम्भार गर्नुपर्नेमा जोड दिएको छ।

विद्युत आपूर्तिको विषयसँगै संगठनले अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको मनोबल उकास्न विभिन्न ८ बुँदे सुझावहरू पनि मन्त्रीहरू समक्ष प्रस्तुत गरेको छ। संगठनले हालै कार्यान्वयनमा आएको नयाँ भन्सार ऐन २०८२ मा उद्योग–व्यवसायलाई दीर्घकालीन असर पार्ने प्रावधानहरू रहेकाले तिनलाई तत्काल संशोधन गर्न माग गरेको छ।

त्यस्तै, निर्यातजन्य उद्योगलाई दिइँदै आएको नगद अनुदानको व्यवस्थालाई निरन्तरता दिँदै कार्यविधि बनाएर तत्काल निवेदन लिने प्रक्रिया सुरु गर्न आग्रह गरिएको छ। बजार सुस्त भएको अवस्थामा अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सरकारले पूँजीगत तथा सार्वजनिक खर्च वृद्धि गर्नुपर्ने सुझाव पनि प्रतिनिधिमण्डलले दिएको छ।

टोलीले विराटनगर आईसीपीसम्मको कार्गो रेल सेवालाई व्यावसायिक बनाउन ह्यान्डलिङ शुल्क परिमार्जन गर्नुपर्ने, मोरङ–कटहरी हुलाकी सडकको निर्माण छिटो सक्नुपर्ने र सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्नुपर्ने जस्ता मागहरू राखेको छ। प्रक्रियागत जटिलताहरू कर, भ्याट, व्यवसाय दर्ता आदिलाई सरलीकरण गरी लगानीमैत्री वातावरण बनाउन पनि आग्रह गरेको छ ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै सरकारले शान्ति–सुरक्षाको प्रत्याभूति र भरोसायुक्त सन्देशमार्फत व्यवसायीको खस्कँदो मनोबल उकास्नुपर्ने बताए । जवाफमा मन्त्रीहरूले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै तत्काल गर्न सकिने कामहरू अघि बढाउने र नीतिगत विषयहरू आगामी सरकारका लागि ‘नोट’ का रूपमा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलमा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा र विपिन कावरालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।