विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीहरूले हालै कार्यान्वयनमा आएको संशोधित भन्सार ऐन, २०८२ मा रहेको बिग्रिएका मेसिनरी तथा पार्टपुर्जा फिर्ता पठाउने समयावधि अव्यवहारिक भएको गुनासो गरेका छन् । उनीहरूले बिग्रिएका औद्योगिक मेसिनरी, कच्चा पदार्थ तथा पार्टपुर्जाहरू फिर्ता पठाउनका लागि तोकिएको ९० दिनको समयसीमा अपर्याप्त रहेको भन्दै यसलाई बढाएर १८० दिन कायम गर्नुपर्ने माग अघि सारेका हुन् ।
उद्योग संगठन मोरङ र विराटनगर भन्सार कार्यालयको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरूले यस्तो धारणा राखेका हुन् । मंसिर २० गतेदेखि लागू भएको ऐनका प्रावधान र यसले उद्योग व्यवसायमा पार्ने प्रभावबारे जानकारी गराउन आयोजित कार्यक्रममा ऐनका केही प्रावधानले उद्योगीलाई अप्ठ्यारो पार्ने विषय उठान गरिएको थियो ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान ऐनको ९० दिने फिर्ता नीतिले उद्योग सञ्चालनमा जटिलता थपेको जिकिर गरे । उनले यो समयसीमालाई १८० दिन बनाउनुपर्ने आवश्यकता औंल्याए । साथै, अध्यक्ष राठीले ऐनमा व्यवस्था गरिएको अत्यधिक दण्ड–जरिवानाले उद्योगीहरूलाई प्रोत्साहन गर्नुको साटो हतोत्साहित बनाउने चिन्ता व्यक्त गरे ।
‘मानवीय त्रुटि र बदनियतपूर्ण कार्यलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन,’ उनले भने, ‘यसलाई स्पष्ट रूपमा छुट्याएर मात्र जरिवानाको व्यवस्था पुनरावलोकन गरिनुपर्छ ।’ उनले प्रशासकीय पुनरावलोकनका क्रममा नगद धरौटीको सट्टा बैंक ग्यारेन्टी राख्न पाउने सुविधा हुनुपर्नेमा समेत जोड दिए ।
उद्योगीहरूको भनाइमा समर्थन जनाउँदै विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माले पनि गल्तीको प्रकृति हेरेर सजाय हुनुपर्ने बताए । उनले भन्सार प्रक्रियामा हुने मानवीय भूल र नियतवश गरिने गल्तीलाई वर्गीकरण गरी सोही बमोजिमको दण्डजरिवाना हुनुपर्ने धारणा राखे ।
उद्योगीहरूको गुनासो सम्बोधन गर्दै विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले संशोधित ऐनले व्यवसायीलाई दुःख दिने नभई काममा सहजीकरण गर्ने उद्देश्य राखेको स्पष्ट पारे । उनले ऐनको नियमावली निर्माणको चरणमा रहेकाले कार्यान्वयनका क्रममा देखा पर्ने व्यवहारिक समस्याहरूलाई क्रमशः समाधान गर्दै लगिने आश्वासन दिए ।
कार्यक्रममा भन्सार अधिकृत तुलसीराम रेग्मीले संशोधित ऐनका प्रमुख विशेषतामाथि प्रकाश पार्दै परिमार्जित ऐनले भन्सार जाँचपास र प्रक्रियालाई थप सरल तथा प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
अन्तरक्रियामा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोइराला, कार्यसमिति सदस्यहरू सन्तोष भगत, विरेन्द्र राठी, दिपक अग्रवाल, जयेन्द्र शर्मा लगायत भन्सार एजेन्ट र उद्योग प्रतिष्ठानका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।