लोड हुँदैछ...

मेनु

सडक सञ्जालले फेरियो सुन्तला किसानको भाग्य : बगानमै पुगेर मोलमोलाई,वार्षिक लाखौँको आम्दानी

सडक सञ्जालले फेरियो सुन्तला किसानको भाग्य : बगानमै पुगेर मोलमोलाई,वार्षिक लाखौँको आम्दानी

विराटनगर । कुनै समय डोकोमा सुन्तला बोकेर स्थानीय हाटबजारमा ग्राहक कुर्नुपर्ने भोजपुरका किसानको दिनचर्या अहिले फेरिएको छ । सडक सञ्जालको विस्तारसँगै यहाँका सुन्तला बगानहरू किसानका लागि आर्थिक बैंक’ का रूपमा परिणत हुन थालेका छन् । यातायातको पहुँच गाउँ–गाउँसम्म पुगेपछि सुन्तला खेती भोजपुरको ग्रामीण अर्थतन्त्रको बलियो मेरुदण्ड बन्दै गएको हो । विगतमा बजार अभावमा कुहिएर जाने वा सस्तोमा बेच्नुपर्ने बाध्यता हटेर अहिले व्यापारीहरू गाडी लिएर बगानमै मोलमोलाई गर्न आउन थालेपछि किसानहरू उत्साहित बनेका छन् ।

टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका अगुवा किसान देवराज राई यसको ज्वलन्त उदाहरण हुन् । २२ रोपनी क्षेत्रफलमा २०० बोट सुन्तला लगाएका राईले घरैमा बसेर वार्षिक करिब पाँच लाख रूपैयाँ आम्दानी गरिरहेका छन् । पहिले सुन्तला बेच्न आफैँ बजार धाउनुपर्ने बाध्यता भए पनि अहिले ठेकेदारहरू बोटमै आइपुग्ने गरेको राई बताउँछन् । उनीजस्तै यस क्षेत्रका करिब १२० घरपरिवारले अहिले निर्वाहमुखी खेती छोडेर व्यावसायिक सुन्तला खेतीलाई मुख्य पेसा बनाएका छन् ।

भोजपुरको सुन्तला अहिले स्थानीय बजारमा मात्र सीमित छैन । सडक सुविधाका कारण यहाँको उत्पादन धरान, इटहरी, विर्तामोड, विराटनगर हुँदै संघीय राजधानी काठमाडौँसम्मका बजारमा पुग्न थालेको छ । एकपटक रोपेपछि लामो समयसम्म फल र आम्दानी दिने भएकाले अन्य बालीको तुलनामा किसानको आकर्षण सुन्तला खेतीमा बढेको पाइएको छ ।
सुन्तला खेतीले किसानको जीवनस्तर उकास्न थालेसँगै स्थानीय सरकारले पनि यसलाई प्राथमिकतामा राखेको छ । टेम्केमैयुङ–५ का वडाध्यक्ष सुनिल राईका अनुसार सुन्तला खेतीलाई वडाबासीको प्रमुख आयस्रोतका रूपमा विकास गर्न ‘पकेट क्षेत्र’ निर्धारण गरिएको छ । वडाले खेती प्रवर्द्धनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याउँदै गत वर्ष कृषि पकेट कार्यक्रम अन्तर्गत दुई लाख रूपैयाँ विनियोजन गरेर उन्नत जातका बिरुवा वितरण गरेको थियो ।

कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांक अनुसार जिल्लामा सुन्तला उत्पादनको ग्राफ उकालो लाग्दै गएको छ । गत वर्ष मात्रै जिल्लामा ६ हजार २९३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । विशेष गरी टेम्केमैयुङको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने तथा भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे क्षेत्र सुन्तलाका लागि उर्वर मानिन्छन् । यसबाहेक षडानन्द नगरपालिका, हतुवागढी र रामप्रसादराई गाउँपालिकामा पनि व्यावसायिक खेती विस्तार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।