लोड हुँदैछ...

मेनु

बिचैमा तुहियो भारतीय गाडीको ‘स्टिकर अभियान’, हटेन पर्यटकलाई सास्ती

बिचैमा तुहियो भारतीय गाडीको ‘स्टिकर अभियान’, हटेन पर्यटकलाई सास्ती

विराटनगर । कोशी प्रदेश सरकारले निकै तामझामका साथ ‘कोसी पर्यटन वर्ष २०८२’ लाई लक्षित गर्दै सुरु गरेको भारतीय गाडीमा ‘सुरक्षा जाँच स्टिकर’ टाँस्ने अभियान तीन महिनामै तुहिएको छ । भारतीय पर्यटकको सहजताका लागि भनेर वैशाख १ गतेदेखि सुरु गरिएको यो अभियान बजेट अभावको कारण देखाउँदै साउनदेखि बन्द भएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको रानी नाकामा आयोजित भव्य कार्यक्रमका बीच रिबन काटेर यो अभियानको शुभारम्भ गरेका थिए। तत्कालीन समयमा प्रदेश सरकारले यसलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ र ठूलो उपलब्धिको रूपमा अर्थ्याएको थियो । तर, विडम्बना नै भन्नुपर्छ, पर्यटकको सहजताका लागि थालिएको यो प्रयास आर्थिक वर्ष फेरिएसँगै अलपत्र परेको छ।

बजेट नहुँदा छापिएन स्टिकर
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि स्टिकर छाप्न बजेट नै विनियोजन नगरेपछि अभियान ठप्प भएको पाइएको छ । गत आर्थिक वर्षमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट व्यवस्थापन गरी स्टिकर छापेर नेपाल प्रहरीलाई उपलब्ध गराएको थियो । नाकाबाट प्रवेश गर्ने भारतीय गाडीमा प्रहरीले सो स्टिकर टाँसेपछि ती सवारी साधनले प्रदेशभरि बिना अवरोध घुम्न पाउने व्यवस्था थियो । तर, यस वर्ष मन्त्रालयले न स्टिकर छापेको छ, न त प्रहरीलाई नै यसको जिम्मेवारी दिइएको छ । जसले गर्दा दैनिक नेपाल भित्रने करिब ५ सय भारतीय गाडी अहिले स्टिकर बिना नै प्रवेश गरिरहेका छन् ।

मुख्यमन्त्री कार्कीले अभियान शुभारम्भ गर्दा भनेका थिए– ‘प्रहरी र ट्राफिकले दुःख दिन्छन् भन्ने सन्देश भारतीय पर्यटकमा परेको छ, यो हटाउनु पर्छ।’ उनले एउटै स्टिकरले सुरक्षा जाँचको काम गर्ने र पर्यटकले ठाउँ–ठाउँमा रोकिनु नपर्ने दाबी गरेका थिए। तर, अभियान बन्द भएसँगै भारतीय पर्यटकको सास्ती पुरानै ठाउँमा फर्किएको छ ।

विराटनगरबाट भेडेटार वा नजिकका गन्तव्यसम्म पुग्दा अहिले पनि कयौं स्थानमा प्रहरीले गाडी रोकेर चेकजाँच गर्ने र अनावश्यक झन्झट दिने गरेको गुनासो पर्यटन व्यवसायीहरूले गरेका छन् । सरकारको अदूरदर्शिताका कारण भारतीय पाहुनाले ‘नेपालमा प्रहरीले दुःख दिन्छन्’ भन्ने सन्देश फेरि बोकेर जान बाध्य भएका छन् ।

व्यवस्थित भवन त परै जाओस्, छाप्रो पनि हट्यो

यो अभियान सुरु गर्दा विराटनगर महानगरपालिकाको एउटा सानो टहराबाट काम थालिएको थियो । त्यसबेला आन्तरिक मामिला मन्त्रालयले एक महिनाभित्रै आफ्नै व्यवस्थित टहरो वा भवन बनाएर सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो । तर, व्यवस्थित संरचना बनाउनु त कता हो कता, भएको छाप्राबाट दिइने सेवा समेत बन्द भएको छ ।

भण्टाबारी, रानी, काँकडभिट्टा र पशुपतिनगर गरी चारवटै नाकाबाट अभियान निरन्तर चलाउने र पर्यटन वर्ष २०८२ लाई सफल बनाउने सरकारको योजना, सामान्य बजेट व्यवस्थापन हुन नसक्दा गफमा मात्र सीमित भएको हो । राम्रो काममा असहयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका मुख्यमन्त्री कार्की यतिबेला आफ्नै सरकारको बजेट अभावले अभियान रोकिँदा मौन छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।