लोड हुँदैछ...

मेनु

बिहार र कोशी प्रदेशबीच पर्यटन प्रबद्र्धनका लागि रणनीतिक साझेदारी

बिहार र कोशी प्रदेशबीच पर्यटन प्रबद्र्धनका लागि रणनीतिक साझेदारी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी ‘कोसी पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन र भारतीय पर्यटक भित्र्याउन भारतको बिहारस्थित पर्यटन व्यवसायीहरूसँग रणनीतिक साझेदारी गरेको छ। भारतको पटनामा आयोजित सातौँ ‘हिमालयन ओरेन्ज टुरिजम फेस्टिभल’को अवसर पारेर ‘टुरिजम एसोसिएसन अफ बिहार’ (टाब) र कोशी पर्यटन वर्ष २०८२ सचिवालयबिच पर्यटन प्रवर्द्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी पत्रमा धार्मिक तथा ग्रामीण पर्यटनलाई केन्द्रमा राखिएको छ। नेपाल र भारतबिचका बौद्ध तथा हिन्दु तीर्थ सर्किटहरूको संयुक्त प्रवर्द्धन गर्ने, वन्यजन्तु पर्यटनको विकास गर्ने र ग्रामीण पर्यटनलाई बढावा दिने विषयमा दुवै पक्ष सहमत भएका छन्।

यो साझेदारीलाई कार्यान्वयन गर्न दुवै पक्षका प्रतिनिधि सम्मिलित एक संयुक्त कार्यदल गठन गर्ने निर्णय भएको छ। यो कमिटीले सीमा क्षेत्रमा हुने आवागमन, भिसा, अध्यागमन र भन्सार प्रक्रियाका चुनौतीहरूलाई संयुक्त रूपमा अध्ययन गरी सहजीकरणका लागि पहल गर्नेछ।

समझदारी अनुसार दुवै पक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ट्राभल मार्ट, रोड शो र कार्यशालाहरू संयुक्त रूपमा आयोजना गर्नेछन्। यसका साथै पर्यटन क्षेत्रमा लगानी मैत्री वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादनका लागि गाइड तथा होटल कर्मचारीहरूलाई संयुक्त तालिम दिने र दिगो पर्यटन अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ।

समझदारी पत्रमा पर्यटन एसोसिएसन अफ बिहारका सचिव आकाश चन्द्र र कोसी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन वर्ष २०८२ का सह–संयोजक भविष कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सह–संयोजक श्रेष्ठले बिहारसँगको यो सम्झौताले कोसी प्रदेशको पर्यटनलाई भारतीय बजारसँग जोड्न कोसेढुङ्गा साबित हुने बताए। यस्तै, पर्यटन कार्यालय काँकडभिट्टाका अधिकृत निरोज कट्टेलले यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूले कोसी पर्यटन वर्ष २०८२ को प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। डिसेम्बर ११ देखि १३ सम्म पटनामा चलेको तीन दिने ओरेन्ज फेस्टिभलमा नेपालसहित भुटान, दार्जिलिङ, सिक्किम र कालिम्पोङका सुन्तला तथा पर्यटन उत्पादनहरूको प्रदर्शनी गरिएको थियो। यसअघि कोलकातामा हुँदै आएको यो महोत्सव यसपटक पटनामा आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।