इटहरी । सुनसरीको इटहरीसहित पूर्वका पाँच सहरमा सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरको सम्पत्ति लिलामी हुने भएको छ ।
हिमालयन बैंक लिमिटेड केन्द्रीय कार्यालय काठमाडौंले गोरखाको लिलामीको सूचना प्रकाशित गर्दै सावा, ब्याज र जरिवाना रकम भुक्तानी गर्न आग्रह गरेको हो ।
बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि भुक्तानी नगरेको जनाउँदै ३५ दिनभित्र अर्थात् २०८२ माघ ३ गतेसम्म रकम नतिरे कालोसूचीमा राखी लेनाअसुल उपर गर्ने चेतावनी दिएको छ । सोहीअनुसार इटहरी, बक्लौरी, कानेपोखरी, केरौन, खोटाङको चिउरी डाँडा, हाँसपोसा र एकम्बालगायत स्थानमा रहेका ४२ कित्ता जग्गाको लिलामी प्रक्रिया सुरु गरिएको छ।
बैंकले कम्पनीका प्रोप्राइटरले प्रयोग गर्दै आएका टोयोटा ल्याण्डक्रुजर, टाटाको इन्ट्रा र कियाको सेल्टोस गाडीलाई समेत लिलामी सूचीमा राखेको छ । कम्पनीको प्रोप्राइटर तथा जमानीमा संलग्न रहेको भन्दै अन्जु आचार्य खत्रीसहित जमानी बस्ने सन्तोष आचार्य, सुशील आचार्य र बलराम आचार्यको नाममा सूचना जारी गरिएको हो।
लामो समयदेखि व्यापारिक गतिविधि सुस्त बनेपछि गोरखा डिपार्टमेन्ट स्टोर बैंकको ब्याजसमेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । जग्गा कारोबारमा आएको मन्दीका कारण व्यापार प्रभावित भएपछि पूर्वका प्रख्यात व्यापारी बलराम आचार्यलाई आफ्नै सम्पत्ति जोगाउन सकस परेको छ ।
पूर्व क्षेत्रमा डिपार्टमेन्ट स्टोर खोलेर सपिङ संस्कृतिको सुरुवात गरेका आचार्यको व्यवसाय अहिले गम्भीर आर्थिक संकटमा परेको देखिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।