विराटनगर । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘पोखरा सडक महोत्सव’ यस वर्ष पनि भव्यताका साथ आयोजना हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा आगामी २०८२ पुस १३ देखि १७ गतेसम्म (डिसेम्बर अन्तिम साता) फेवा ताल किनारमा महोत्सव हुनेछ ।
महोत्सवको प्रचार–प्रसार तथा निम्तो बाँड्न देश दौडाहामा निस्केको आयोजक टोलीले आज विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी कोशी प्रदेशका नागरिकलाई पोखरा आउन निमन्त्रणा दिएको छ ।
पोखराको लेकसाइडस्थित करिब साढे ३ किलोमिटर क्षेत्रमा सञ्चालन हुने यस महोत्सवको मूल नारा ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका संयोजक तथा रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतमले पोखराको पर्यटनलाई विश्वभर चिनाउन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव कोसेढुङ्गा सावित भएको बताए ।
विगतमा अंग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा वा थाइल्याण्ड जाने परम्परालाई तोड्दै यो महोत्सवले पोखरालाई नै ‘न्यू इयर डेस्टिनेसन’ का रूपमा स्थापित गरेको आयोजकको दाबी छ । पाँच दिनसम्म चल्ने महोत्सवमा विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको छ ।
पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ को पूर्वसन्ध्यामा आयोजित यो महोत्सवले भ्रमण वर्षलाई सफल बनाउन रणनीतिक भूमिका खेल्ने विश्वास लिइएको छ । महोत्सवले पोखरालाई बाह्रै महिना पर्यटकीय गन्तव्यका रूपमा चिनाउने र ‘खुला संग्रहालय’ को अवधारणालाई मूर्तरूप दिने बताइएको छ ।
साथै, स्थानीय कृषि उपज, हस्तकला र घरेलु सामग्रीको प्रदर्शनले ग्रामीण अर्थतन्त्रलाई टेवा पुग्ने र विदेशी पर्यटक मार्फत विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने आयोजकले जनाएको छ । भूकम्प, कोरोना महामारी र आर्थिक मन्दी जस्ता संकटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न यो महोत्सवले सञ्जीवनीको काम गर्ने अपेक्षा गरिएको छ ।
महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि. रहेको छ भने प्रवर्द्धकमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिका रहेका छन् । आयोजकले इटहरी, विराटनगर, जनकपुर र चितवन लगायतका सहरका बासिन्दालाई महोत्सवमा सहभागी भई पोखराको आतिथ्यता ग्रहण गर्न आग्रह गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।