विराटनगर । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
नेप्से १४ कारोबार दिनपछि २६०० विन्दुभन्दा तल झरेको छ । यसअघि गत मंसिर ४ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो ।
आइतबार नेप्से परिसूचक १२.५० अंक घटेर २५९४.८७ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ०.७९ अंक, फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंकले घटेको छ ।
परिसूचक घटे पनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा आइतबार ३३० स्टकको ६० हजार ६९९ पटकको कारोबारमार्फत ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन दुई स्टक सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको शेयर सर्किट लेभलमा पुगेका हुन् । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरै बढेको छ भने अधिकांश अन्य स्टकको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको सिटि होटलको शेयरमूल्य सर्वाधिक ६.२६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहँदै २६ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, ङादी ग्रुप पावरको करिब १९ करोड रुपैयाँ र शिवम सिमेन्ट्सको करिब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
बजारका १३ उपसमूहमध्ये बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ उपसमूह घटेका छन्। जलविद्युत, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशतले घटेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।