विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनको बन्दसत्र आजबाट सुरु हुँदैछ । बिहानैबाट सुरु हुुने भनिएको बन्दसत्रलाई दिउँसो १ बजेको लागि सारेर विधान संशोधनको लागि अध्यक्ष केपी शर्मा ओलीले बोलएको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ ।
बिहानै बन्द शत्रका लागि भृकुटीमण्डप पुगेका महाधिवेशन प्रतिनिधिहरु अहिले घाम तापिरेका छन् भने केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
आकांक्षी व्यवस्थापन गर्न नसक्ने भएपछि ओलीले तीन महिना अगाडि आफ्नै प्रस्तावमा घटाएको केन्द्रीय समिति र पदाधिकारीको संख्या बढाउन लागेका छन् । शुक्रबार बसेको सचिवालय बैठकले ३ महिनामै विधान फेर्दा राम्रो सन्देश नजाने भन्दै संशोधन नगर्ने निर्णय गरेको थियो । तर, आफ्नै गुट व्यवस्थापनमा सकस परेपछि ओलीले बिधान संशोधन गर्न लागेका हुन् ।
नेताहरूका अनुसार व्यक्तिहरूको व्यवस्थापनलाई दृष्टिगत गर्दै विधान संशोधन प्रस्ताव गर्न लागिएको हो । गत भदौमा मा सम्पन्न विधान महाधिवेशनले एमालेको आगामी केन्द्रीय कमिटीमा १५ सदस्यीय पदाधिकारीसहित २५१ सदस्यीय हुने व्यवस्था गरेको थियो भने स्थायी कमिटी खारेज गरेको थियो ।
पदाधिकारी १९, स्थायी कमिटी ब्यूँताउने, केन्द्रीय सदस्य थपेर ३५१ सम्म पुर्याउने र केन्द्रीय कमिटीमा प्रवेश गर्नका निम्ति दुई क्लष्टर थप्ने गरी विधान संशोधन गर्न लागिएको बताइन्छ । अध्यक्षमा केपी ओलीसँग समूह बनाएरै प्रतिस्पर्धा गर्न लागेका ईश्वर पोखरेल र उनको समूहले भने संशोधन गर्ने भए २ कार्यकाल र ७० वर्षे उमेरहद पनि कायम राख्नुपर्ने बताउँदै आएको छ ।
केन्द्रीय समितिमा ओलीको पक्षमा दुईतिहाई बढि सदस्य रहेकोले विधान संशोधन प्रस्ताव पारित भएर महाधिवेशनमा जाने निश्चित रहेको नेताहरुले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।