लोड हुँदैछ...

मेनु

काफ्ले डाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै

काफ्ले डाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै

भोजपुर । सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ।

भोजपुर नगरपालिका–९ मा पर्ने काफ्ले डाँडालाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी संरक्षण र पूर्वाधार निर्माणको काम भइरहेको छ ।

वडाध्यक्ष रामबहादुर तामाङका अनुसार वडाको ६ लाख रुपैयाँ र प्रदेश सरकारको १० लाख रुपैयाँ बजेटमा दुईतर्फबाट बारा (रेलिङ) सहितको पदमार्ग, धारा, शौचालय र वनभोज स्थल निर्माण गरिएको छ। काफ्ले डाँडालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको वडाध्यक्ष तामाङले बताए ।

सदरमुकाम नजिकै रहेको यो स्थान प्राकृतिक रूपमा सुन्दर भएकाले पर्यटक आकर्षित गर्ने ठूलो सम्भावना छ । त्यसैले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै आवश्यक संरचना निर्माण गरिएको हो।

यो वर्ष थप संरचना निर्माणका लागि वडाले बजेट विनियोजन गरेको छ। काफ्ले डाँडालाई अझ आकर्षक बनाउन बुद्धको मूर्ति स्थापना गर्ने र दुईतर्फबाट बारा सहित सुरक्षित पैदलमार्ग निर्माण गर्ने योजना रहेको वडाध्यक्ष तामाङले बताए । बजेटको अभावका कारण केही काम अधुरो रहेको उनको भनाइ छ ।

काफ्ले डाँडाबाट भोजपुर बजार, आसपासका बस्ती, हरियाली वनक्षेत्र तथा टाढासम्मका हिमश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । त्यहाँ दैनिक घुमफिर र फोटो खिच्न पुग्नेको सङ्ख्या बढ्दै गएको स्थानीयले बताएका छन्।

विशेषगरी बिदाका दिन, नयाँ वर्ष तथा फूल फुल्ने मौसममा यहाँ आगन्तुकको चहलपहल उल्लेख्य रूपमा बढ्ने गरेको छ । पर्यटन व्यवसायीहरूले काफ्ले डाँडाको प्रभावकारी व्यवस्थापन र प्रचारप्रसार हुन सके स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।