लोड हुँदैछ...

मेनु

सुदूरपश्चिम ७७ रनको जितसहित दोस्रो पटक फाइनलमा, विराटनगरको सम्भावना कायमै

सुदूरपश्चिम ७७ रनको जितसहित दोस्रो पटक फाइनलमा, विराटनगरको सम्भावना कायमै

विराटनगर । विराटनगर किंग्समाथि ७७ रनको सानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ।

सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश गरेको हो। अघिल्लो सिजनमा भने उसले जनकपुर बोल्ट्ससँग पराजय खेपेको थियो।

अब उपाधिका लागि सुदूरपश्चिमले दोस्रो क्वालिफायरको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरमा विराटनगर विजयी भएमा उसको पनि फाइनलमा पुग्ने सम्भावना कायमै छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरको ब्याटिङ लाइनअप पूर्ण रूपमा धरासायी बनायो। १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमै ७८ रनमा अलआउट हुँदै ठूलो अन्तरले पराजित भयो।

लक्ष्य पछ्याउने क्रममा विराटनगरले अत्यन्त खराब सुरुआत गरेको थियो । पहिलो ७ बलमै तीन विकेट गुमाउँदा टोली दबाबमा परेको थियो। पहिलो ओभरमा साम हिजलेट र मार्टिन गप्टिल आउट भए भने दोस्रो ओभरको पहिलो बलमा नरेन भट्ट पनि पेभिलियन फर्किए।

इनिङको पहिलो बलमै स्कट कुगेइलिनले हिजलेटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। ओभरको अन्तिम बलमा गप्टिल रनआउट भए। फाफ डु प्लेसिसले कल नगरी रनका लागि दौडिएपछि इशान पाण्डे र कुगेइलिनको मिलापमा गप्टिल रनआउट भएका थिए। त्यसबेला विराटनगरले ३ रनमै २ विकेट गुमाइसकेको थियो।

दोस्रो ओभरको पहिलो बलमा नरेन भट्ट पनि आउट भएपछि विराटनगरले सात बलमै ३ विकेट गुमाएर ३ रनमात्रै जोडेको थियो। त्यसपछि बसिर अहमद १२ रनमा आउट भए।
लोकेश बमले ५ रन बनाएर विकेट गुमाएपछि विराटनगर ८.२ ओभरमा ५०/५ को अवस्थामा पुगेको थियो।

त्यसपछि पनि लगातार विकेट झर्दै गए। नारायण जोशी १ रनमा बोल्ड भए। ११औँ ओभरमा फाफ डु प्लेसिस ३६ रनमा आउट भए। उनी २९ बलमा ३ चौका र १ छक्का प्रहार गरेर क्याच भएको थिए। अर्को बलमै प्रतिश जिसी ३ रनमा रनआउट भए। मर्स्याङ डि लाङ १५ रनमा क्याच भए। अन्तिम विकेटका रूपमा सन्दीप लामिछाने ३ रनमा आउट हुँदा विराटनगर ७८ रनमै समेटियो।

सुदूरपश्चिमका अभिनास बोहरा, स्कट कुगेइलिन र हर्मित सिंहले समान २–२ विकेट लिए।

त्यसअघि विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ६३ रनको उल्लेखनीय इनिङ खेले। ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरेका उनलाई साम हिजलेटले १९ औँ ओभरको अन्तिम बलमा क्याच गरेका थिए।

मख्तर अहमद १० रनमा बोल्ड भए भने शेल्डन ज्याक्सले २० रन बनाएर आउट भए। इशान पाण्डे १३ र हर्मित सिंहले १४ रन योगदान दिए। अन्त्यतिर आरिफ शेखले १३ बलमा २० रन बनाए।

विराटनगरका लागि मर्स्याङ डि लाङ र प्रतिश जिसीले २–२ विकेट लिए। साम हिजलेट र सूर्य तामाङले १–१ विकेट लिए।

विराटनगरले अब बिहीबार दोस्रो क्वालिफायरमा खेल्नेछ। बुधबार काठमाडौँ र लुम्बिनीबीच इलिमिनेटर खेल हुनेछ। सो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

दोस्रो क्वालिफायरको विजेता शनिबार हुने फाइनलमा सुदूरपश्चिमसँग उपाधि भिडन्तमा उत्रनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।