विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण आजदेखि प्लेअफ चरणमा प्रवेश गरेको छ।
पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र उत्कृष्ट लयमा रहेको विराटनगर किङ्स आज कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे भिड्दैछन्।
आजको खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित टिमले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को मौका पाउनेछ । दोस्रो क्वालिफायर काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग आज पराजित टिमले फाइनलको लागि भिड्नेछ ।
विराटनगर र सुदुरपश्चिम दुबै टिमले लिग चरणमा प्रभावशाली प्रदर्शन गरेका थिए । सुदूरपश्चिमले ७ मध्ये ६ खेल जित्दै शीर्ष स्थान सुरक्षित गरेको थियो । उसले विराटनगरसँग मात्र हार भोगेको थियो । विराटनगर भने ५ जित र २ हारसहित दोस्रो स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको थियो। यो तथ्यांकले नै आजको भिडन्त ‘दाउमध्येको दाउ’ हुने संकेत गर्छ।
सुदूरपश्चिमलाई यस पटक विदेशी खेलाडीको हदम्यादले चुनौती थपिएको छ । समूह चरणपछि अष्ट्रेलियन ब्याटर क्रिस लिन र जोश ब्राउन स्वदेश फर्किएपछि टिमले हतारोमा भारतका शेल्डन फिलिप्स ज्याक्सन र पाकिस्तानका मुख्तार अहमदलाई भित्र्याएको छ । नयाँ खेलाडीले प्लेअफजस्तो दबाबयुक्त मञ्चमा कत्तिको प्रभाव पार्लान् भन्ने जिज्ञासा दर्शकमा छ ।
स्थानीय ब्याटर विनोद भण्डारी, आरिफ शेख र इसान पाण्डेदार अघि बढेको सुदूरको प्रदर्शन भने स्थिर देखिएको छ । कप्तान दीपेन्द्रसिंह ऐरीले तीनै विभागमा नेतृत्व दिनुपर्नेछ ।
बलिङ पक्षमा स्कट कुगेइलिन र अविनाश बोहरा सुदूरका मुख्य हतियार हुन् । स्पिन विभाग कप्तान ऐरी र ध्रुव परासरले सम्हाल्नेछन् । सुदूरको समग्र शक्ति स्वदेशी खेलाडीमै केन्द्रित छ । जुन आजको दबाबमा कसरी फलिफाप हुन्छ, त्यो निर्णायक बन्न सक्छ।
विराटनगर किङ्स भने आजको मुख्य ‘फेभरेट’ मानिँदै फाइनलतर्फ एक कदम नजिक उभिएको छ । कप्तान सन्दीप लामिछाने उत्कृष्ट लयमा छन् । उनी प्रतियोगिताका शीर्ष विकेट–टेकर मात्र होइनन्, सबैभन्दा मितव्ययी बलरसमेत बनेका छन् । सन्दीपसँगै स्पिन विभागमा सूर्य तामाङ, बसिर अहमद र नरेन भट्टले बलियो साथ प्रदान गर्दै आएका छन् । पेस आक्रमण दक्षिण अफ्रिकन मर्चेन्ट डी लाङ्गे र युवा प्रतिश जिसीले सम्हाल्नेछन्।
ब्याटिङतर्फ विराटनगरलाई विदेशी खेलाडीले नै टप अर्डरमा असाधारण बलियो बनाएका छन् । फाफ डु प्लेसिस, साम हेजलेट र मार्टिन गप्टिलको क्षमता चलेमा सुदूरपश्चिमका बलरलाई रोक्न चुनौतीपूर्ण हुनेछ । अघिल्लो भेटमै यी दुवै ओपनरले सुदूरलाई क्षणभरमै दबाबमा पारेका थिए । मध्यक्रममा बसिर अहमद र लोकेश बमले सन्तुलन दिनेछन् । लो अर्डरमा सन्दीप र जिसी समेत उपयोगी हिटरका रूपमा उत्रिन सक्छन्।
विराटनगर मनोबलका हिसाबले अगाडि रहेको देखिन्छ । सुदुरमाथिको अघिल्लो जितले विराटनगरको आत्मविश्वास बढेको छ । फाफ डु प्लेसिस चले भने खेल एकतर्फी पनि हुनसक्छ । तर, नेपाली खेलाडीको योगदान आज अत्यन्त महत्वपूर्ण हुनसक्छ ।
आजको खेलमा १७० रनसम्म बनाउने टिमको जित सम्भावना अधिक हुनेछ । आजको क्वालिफायरले फाइनल यात्राको दिशा तय गर्नेछ। विराटनगरले पहिलो पटक फाइनल प्रवेश गर्ने क्रममा लय कायम राख्ला कि सुदूरपश्चिमले बदला चुकाउँदै लगातार दोस्रोपटक फाइनलको यात्रा समान्तर्फ मोड्ला भन्ने जानकारी पाउन अब केहि मिनेटपछि सबैको ध्यान कीर्तिपुरतर्फ मोडिनेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।