लोड हुँदैछ...

मेनु

दुई प्रतिनिधि ‘उपहार’ दिएर मिलाइयो धनकुटा एमालेको विवाद

दुई प्रतिनिधि ‘उपहार’ दिएर मिलाइयो धनकुटा एमालेको विवाद

धनकुटा । नेकपा एमाले धनकुटाको महाधिवेशन प्रतिनिधि छनोटमा देखिएको विवाद अन्ततः ‘लेनदेन’ को सहमतिमा टुंगिएको छ ।

निर्वाचन जितेका दुई जना प्रतिनिधिलाई फिर्ता बोलाएर असन्तुष्ट पक्षका दुई जनालाई अवसर दिएपछि विवाद समाधान भएको हो । गत मंसिर १३ गते भएको निर्वाचन प्रक्रिया र त्यसपछिको विवादले उग्र रूप लिएपछि केन्द्रको निर्देशनमा पुनः निर्वाचनको तयारी भइरहेको थियो । तर, अन्तिम समयमा आएर निर्वाचन प्रक्रियामा नगई राजनीतिक सहमतिका आधारमा विवाद मिलाइएको छ ।

मंसिर १३ गते ११ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको निर्वाचनलाई नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य इन्द्रमणी पराजुली पक्षले बहिष्कार गरेको थियो । पराजुली पक्षको बहिष्कारका बाबजुद भएको निर्वाचनबाट संस्थापन राजेन्द्र राई पक्षका उम्मेदवारहरू भारी मतका साथ विजयी भएका थिए ।

निर्वाचनबाट खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका थिए । यस्तै महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले तथा युवातर्फ सरोज राई निर्वाचित हुँदा दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत भएका थिए ।

तर, पराजुली पक्षले एकलौटी निर्वाचन भएको भन्दै केन्द्रमा उजुरी दिएपछि एमाले केन्द्रीय कार्यालयले स्वच्छ र निष्पक्ष निर्वाचन नभएको ठहर गर्दै ५ दिनभित्र पुनः प्रतिनिधि छनोट गर्न निर्देशन दिएको थियो ।केन्द्रको निर्देशनपछि विवाद मिलाउन बसेको बैठकमा रोचक सहमति जुटेको छ । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र राई पक्षले त्याग देखाउँदै निर्वाचित भएका आफ्ना दुई प्रतिनिधिलाई फिर्ता बोलाएको छ भने पराजुली पक्षका दुई जनालाई थप गर्ने सहमति भएको छ ।

सहमति अनुसार भारी मत ल्याएर जितेका शान्तिराम गौतम र अर्जुन छाराहाङ महाधिवेशन प्रतिनिधिबाट बाहिरिएका छन् । उनीहरूको स्थानमा पराजुली पक्षका निरेन तामाङ र मनोज राई प्रतिनिधि चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds