लोड हुँदैछ...

मेनु

कुलमानाको पार्टीमा लफडा: सरकारलाई आतङ्ककारी भन्दै केन्द्रीय सदस्यको राजीनामा

कुलमानाको पार्टीमा लफडा: सरकारलाई आतङ्ककारी भन्दै केन्द्रीय सदस्यको राजीनामा

विराटनगर । ऊर्जामन्त्री कुलमान घिसिङको अगुवाइमा स्थापना भएको उज्यालो नेपाल पार्टीमा लफडा सुरु भएको छ ।

पार्टीको औपचारिक घोषणा भएको एक साता नपुग्दै केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्।

घिसिङ ऊर्जामन्त्री रहेको सरकारलाई आतंककारीको संज्ञा दिँदै उनले राजीनामा दिएकी हुन् । हेटौडामा सडक विस्तारका क्रममा घरधनीलाई उचित मुआब्जा नदिई विद्युत् काटेर संरचना भत्काएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गरेकी हुन्।

श्रेष्ठले फेसबुकमा लेखेकी छन्, ‘आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।’ अन्यायमा परेका हेटौंडाका पीडितको साथमा रहने बताउँदै उनले पार्टीमा बसिरहन आफूलाई नैतिकताले नदिएको प्रष्ट्याएकी छन्। ‘अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ? मेरो नैतिकताले दिएन। म हेटौंडा पीडितको साथ छु,’ उनले स्टाटसमा लेखेकी छन्।

राजीनामा घोषणा गरेपछि श्रेष्ठले सरकारप्रति असन्तुष्टि जनाउँदै निरन्तर प्रतिक्रिया दिएकी छन्। मन्त्री कुलमान घिसिङको राजीनामा माग गर्दै सरकार एडीबी र एमसीसीको प्रभावमा चलेको आरोपसमेत उनले लगाएकी छन्।

अर्को स्टाटसमा उनले लेखेकी छन्, ‘नैतिकता छ ममा। त्यसैले राजीनामा हो। बुझ्न अनुरोध गरें। मरेका मान्छेहरू बोल्दैनन्। म जिउँदो छु। बस।’ उनले नागरिकमाथि ज्यादती गर्ने सरकारलाई आतंककारीको संज्ञा दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।