लोड हुँदैछ...

मेनु

हात्तीसार क्याम्पस स्थापना भएको ५२ वर्षपछि प्रशासनिक भवन निर्माण सुरु

हात्तीसार क्याम्पस स्थापना भएको ५२ वर्षपछि प्रशासनिक भवन निर्माण सुरु

धरान । सुनसरीको धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको प्रशासनिक भवन निर्माण थालिएको छ ।

क्याम्पस स्थापना भएको ५२ वर्षपछि पहिलोपटक छुट्टै प्रशासनिक भवन निर्माण थालिएको हो ।

शुक्रबार शिलान्यास क्याम्पस प्रमुख प्राध्यापक वसन्तकुमार राई, सञ्चालक समिति अध्यक्ष प्रा.डा. धनबहादुर कार्की र धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले संयुक्त रूपमा गरेका छन् । कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको भवनको ठेक्का सिमवाली क्रिपाम जेभी टोखा काठमाडौंले भ्याट र कन्टिन्जेन्सी बाहेक १ करोड ६६ लाख १३ हजार ५०७ रुपैयाँमा लिएको छ ।

कम्पनीले साइट क्लियर गर्दै निर्माण कार्य सुरु गरिसकेको छ। कम्पनीका सुपरभाइजर अनिल श्रेष्ठका अनुसार भवन अन्डरग्राउन्डसहित ३ तले हुनेछ। अपाङ्गमैत्री शौचालय, भर्याङसहितका ७ कोठा र १०८ जनासम्म अट्ने सम्मेलन कक्ष रहनेछ। ठेक्का सम्झौताअनुसार २ वर्षको समय सीमा भए पनि एक वर्षमै भवन उपयोगमा ल्याइने कम्पनीको दाबी छ।

केन्द्रीय प्रविधि क्याम्पस २०३० सालमा व्यवहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थानका रूपमा स्थापना भएको हो। शैक्षिक भवनहरू बने पनि प्रशासनिक काम पुरानो अतिथि गृहमा सञ्चालन हुँदै आएको छ। स्वायत्ततामा गएपछि पनि छुट्टै प्रशासनिक भवन बनाउन बजेट नआएको क्याम्पस प्रमुख राईले बताए।

आर्थिक वर्ष २०८१–८२ मा प्रदेश सरकारले बजेट स्वीकृत गरेसँगै निर्माण प्रक्रिया अघि बढेको हो । क्याम्पसले प्रस्ताव गरेको डिजाइनअनुसार ३ तले प्रशासनिक भवनमा ११ वटा कार्यकक्ष र तेस्रो तलामा ‘रूफटप सभा हल’ रहनेछ ।

भवनको पहिलो तलामा क्याम्पस प्रमुखको कार्यालय, सहायक प्रमुखका दुई कक्ष, प्रशासन कक्ष, बैठक कक्ष र किचन रहनेछन् । दोस्रो तलामा आईटी रुम, लेखा शाखा, दर्ता–चलानी कक्ष, स्टोर र परीक्षा शाखा रहने क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।