विराटनगर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा ‘क्वालिफायर’ खेल्ने पक्का गरेको हो।
लगातार छैटौं जित निकालेको सुदूरपश्चिम १२ अंकसहित शीर्ष स्थानमा आसिन छ। शीर्ष दुईमा स्थान सुरक्षित गरेसँगै अब सुदूरपश्चिमले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछ। सो खेल जितेमा टोली सिधै फाइनल पुग्नेछ भने पराजित भएमा पनि दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को मौका पाउनेछ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेको थियो। टोलीका लागि अस्ट्रेलियन ब्याटर क्रिस लिनले सर्वाधिक ७५ रनको योगदान दिए। ५६ बल सामना गरेका उनले ५ चौका र ३ छक्का प्रहार गरेपछि रिटायर्ड हर्ट भएका थिए।
त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान अविजित २४-२४ रन बनाए भने ओपनर विनोद भण्डारी २१ रनमा आउट भए। एनपिएलमा डेब्यु गरेका पुनित मेहराले १३ रन जोडे। बलिङतर्फ चितवनका सइफ जइबले २ तथा जर्ज स्कृमश र रञ्जित कुमारले १-१ विकेट लिए।
१७० रनको लक्ष्य पछ्याएको चितवन राइनोजको ब्याटिङ चल्न सकेन र टोली १७.१ ओभरमा १२० रनमै अलआउट भयो। चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए भने देव खनालले २८ रन जोडे। अन्य ब्याटरहरूमा अर्जुन साउद (१६) र कप्तान कुशल मल्ल (१५) बाहेक अरूले दोहोरो अंकमा रन जोड्न सकेनन्। डेभिड मलान र सइफ जइब ६-६ रनमै समेटिए।
सुदूरपश्चिमका लागि पुनित मेहराले ३ विकेट लिँदै चितवनको ब्याटिङ लाइन ध्वस्त पारे।
एक स्थानका लागि चार टोलीको दौड
सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्स र काठमान्डु गोर्खाजले पनि प्लेअफमा स्थान सुरक्षित गरेका छन्। अब प्लेअफको चौथो तथा अन्तिम स्थानका लागि कडा प्रतिस्पर्धा हुनेछ।
अन्तिम एक स्थानका लागि चितवन राइनोज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स दौडमा छन्। शुक्रबार हुने खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेमा लुम्बिनी सिधै प्लेअफमा पुग्नेछ र बाँकी तीन टोली बाहिरिनेछन्।
तर, यदि लुम्बिनी पराजित भएमा समीकरण थप रोमाञ्चक बन्नेछ। यस्तो अवस्थामा चितवन, पोखरा र जनकपुरको सम्भावना जीवित रहनेछ, जसको निर्णय अन्तिम खेलहरूको नतिजा र रनरेटमा भर पर्नेछ। चितवनले आफ्नो अन्तिम खेल पोखरासँग र जनकपुरले कर्णालीसँग खेल्ने तालिका छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!