प्रधानमन्त्री कार्कीको सचिवालयमा कटौती, अब छ जना मात्र कायम

प्रधानमन्त्री कार्कीको सचिवालयमा कटौती, अब छ जना मात्र कायम

विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयमा व्यापक कटौती गर्दै २० सदस्यीय संरचनालाई घटाएर ६ सदस्यीय बनाइदिएकी छन्।

प्रधानमन्त्रीको सचिवालयमा जथाभावी नियुक्ति भएको विषय सार्वजनिक भएसँगै जेन्जी समूहले विरोध गरिरहेको बेला उनले सचिवालयका १४ जना कर्मचारी कटौती गरेकी हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार खर्च नियन्त्रण, कार्यक्षमता वृद्धि र जेनजी युवाहरूले उठाउँदै आएको ‘सानाे र प्रभावकारी सचिवालय’ को माग सम्बोधन गर्न प्रधानमन्त्रीले यो कदम चालेकी हुन्। यसअघि कार्कीको सचिवालयमा २० जना कर्मचारी तथा विज्ञहरू कार्यरत थिए।

नयाँ संरचना अनुसार अब प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ गरी ६ पद मात्र रहनेछन्। प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार नयाँ सचिवालयमा रहने सबै पदाधिकारी पहिले नै काम गरिरहेका व्यक्ति नै हुन्।

खासगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले सचिवालयमा श्रीमती र आफन्तलाई नियुक्ति गरेको विषय सार्वजनिक भएपछि जेनजीहरूले उनलाई हटाउन माग गरिरहेका थिए। तर, कार्कीले श्रेष्ठलाई यथावत राखेकी छन्। उनीकी श्रीमती संगीता श्रेष्ठ हटाइएकी छन्।

श्रेष्ठसहित, कमला श्रेष्ठ, रमेशराज दाहाल, अर्जित खड्का, आकृति घिमिरे, सृष्ट ढुंगेल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जिला कायस्थ, रविना श्रेष्ठ, हरिबाबु श्रेष्ठ, मिरा अधिकारी, प्रदिप ज्ञवाली र अरुण कटुवाललाई सचिवालयबाट हटाइएको हो । ज्ञवाली र घिमिरे जेनजी आन्दोलनका अभियानकर्ता हुन् ।

विवादका बाबजुद आदर्शलाई यथावत् राखिएको छ भने संगीतालगायत अन्य सदस्य हटाइएका छन्। प्रधानमन्त्री कार्कीले सचिवालयबाट जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई समेत बाहिर राखेकी छन् । ज्ञवाली र घिमिरेले पनि श्रेष्ठलाई हटाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। तर श्रेष्ठलाई यथावत राखेकी प्रधानमन्त्रीले उनीहरूलाई नै हटाइदिएकी छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार सचिवालयको आकार घटाउँदा सरकारी खर्च घट्ने, कामको प्रभावकारिता बढ्ने र निर्णय प्रक्रियामा अनावश्यक भीड हट्ने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्