काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज (बुधबार) सकिँदै छ ।
निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेदेखि आज मंसिर १० गतेसम्मका लागि समय तोकेको थियो । सोही समयसीमा अनुसार दल दर्ताको कार्य आज कार्यालय समयसँगै समाप्त हुनेछ ।
आयोगका अनुसार मङ्गलबारसम्म प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टीलगायत ८० वटा दलले निर्वाचनका लागि आफ्नो नाम दर्ता गराइसकेका छन् ।
निर्वाचन आयोगमा हालसम्म पुराना र नयाँ गरी कुल १३५ वटा राजनीतिक दल दर्ता भएका छन् । यद्यपि, आयोगमा दर्ता भएका सबै दलले स्वतः निर्वाचनमा भाग लिन पाउने छैनन् । आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनका लागि आयोगले तोकेको समयसीमाभित्र ‘निर्वाचन प्रयोजन’ खुलाएर दर्ता भएका दलले मात्रै भाग लिन पाउने कानुनी व्यवस्था रहेको छ ।
आज अन्तिम दिन भएकाले बाँकी रहेका अन्य साना तथा ठूला दलहरूले पनि दर्ता प्रक्रिया पूरा गर्ने आयोगले जनाएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!