लोड हुँदैछ...

मेनु

विकासको काममा प्रदेशको सफलता : शिलान्यासको भएको एक वर्षमै बन्यो पक्की पुल

विकासको काममा प्रदेशको सफलता : शिलान्यासको भएको एक वर्षमै बन्यो पक्की पुल

विराटनगर । कोशी प्रदेश सरकारले खोटाङको बुवाखोलामा शिलान्यास गरेको एक वर्षमै पक्की पुल निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ।

निर्माणको लागि गरिएको सम्झौता अबधिभन्दा झण्डै एक वर्षअघि सम्पन्न भएको यो पुलको शनिबार भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका छन् ।

यो पुल प्रदेश सरकारको द्रुत र परिणाममुखी विकासको उदाहरण बनेको मन्त्री राईले बताए। खोटाङको बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकालाई जोड्ने १४८ मिटर लामो यो पक्की पुलको शिलान्यास मन्त्री राईले नै ठिक एक वर्षअघि २०८१ मंसिर ६ गते गरेका थिए ।

कुल १७ करोड ७० लाख १० हजार २६५ रुपैयाँ लागतमा जय वागेश्वरी रेग्मी चुरिया जेभीसँग २०८१ वैशाख ३० मा सम्झौता गरिएको पुलको निर्माण अवधि २०८३ कात्तिक ३१ सम्म तोकिएको थियो । तर, निर्धारित समयभन्दा एक वर्ष पहिले नै काममा पूर्णता दिँदै हालसम्म निर्माण भएका पुलमध्ये सबैभन्दा लामो पक्की पुल निर्माणको उपलब्धि हात पारेको छ।

पुल बनेपछि बराहपोखरी–५ पौवसेरा र जन्तेढुङ्गा–१ का बासिन्दालाई यातायातमा सहजता पुगेको छ । मन्त्री राईले इच्छाशक्ति र व्यवस्थापन सुसंगत भए समयमै मात्रै होइन, समयअघि नै विकासका काम सम्पन्न गर्न सकिने खोटाङले प्रमाणित गरेको टिप्पणी गरे।

प्रदेश सरकारले गरेका विकासका काम ढिलासुस्ती विना तीब्र रुपमा सफल भएको धेरै उदाहरण भएको मन्त्री राईले बताएका छन् । काममा ढिलाई गर्र्ने र लापर्वाही गर्ने ठेकेदारलाई कार्वाहीको प्रक्रिया अगाडि बढाएपछि ढिलासूस्ती भएका आयोजनाको काम पनि अगाडि बढेको उनको भनाइ छ ।
यसैबीच पुल निर्माणस्थल नजिकै सुनकोसी नदीमा बेलिब्रिज निर्माण प्रक्रियासमेत सुरु भएको छ । बेलिब्रिज बनेपछि खोटाङबाट तराई जोड्ने दूरी थप घट्ने र यातायात सुगम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।