सिमरामा एमाले नेताहरुलाई आउन नदिने भन्दै अराजक प्रदर्शनपछि कर्फ्यु

सिमरामा एमाले नेताहरुलाई आउन नदिने भन्दै अराजक प्रदर्शनपछि कर्फ्यु

जनकपुर । एमाले नेताहरुलाई प्रवेश गर्न नदिने भन्दै एक समूहले बाराको सिमरा विमानस्थलमा प्रदर्शन गरेपछि भएको झडपमा त्यहाँको अवस्था तनावग्रस्त बनेको छ।

बुधबार बिहानैदेखि सिमरा विमानस्थलमा जेनजी भनदै जम्मा भएका युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङका अनुसार विमानस्थलमा साढे २ सय हाराहारी युवाहरू जम्मा भएका थिए । बाराकै परवानीपुरमा युवा संघले आयोजना गर्न लागेको जागरण सभालाई सम्बोधन गर्न एमाले महासचिव शंकर पोखरेल, नेताहरु भानुभक्त ढकाल र महेश बस्नेत जाने कार्यक्रम थियो ।

प्रहरीका अनुसार एउटा समूहले अवरोध गरेपछि एमाले कार्यकर्ताहरू पनि विमानस्थल पुगेका थिए । त्यसपछि दुई समूहबीच झडप भएको थियो। विमानस्थल क्षेत्रमै झडप हुँदा विमानस्थलको गेटमा क्षति पुगेको छ भने विमानस्थल भित्र पनि ढुंगामुढा भएको छ ।

दुई पक्षबीच झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । विमानस्थलमै झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले बेलुकी ८ बजेसम्म कर्फ्यू आदेश जारी गरे‍को छ। सिमरा विमानस्थल बन्द गरिएको छ ।

प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । सडकमा प्रदर्शन जारी छ ।

विमानस्थल बन्द भएपछि सभाका लागि जाँदै गरेका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै रोकिएका छन् । काठमाडौंबाट आउने नेताको स्वागत गर्न भन्दै एमालेका नेताहरू निवर्तमान सांसदहरू किशान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला साहलगायतका नेता सिमरा विमानस्थलभित्रै छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्