काठमाडौँ । सोमबार राति भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईं ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रसाईलाई हिरासतमा राखेर सोधपुछ र थप अनुसन्धान प्रक्रिया अघि बढ्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए ।। प्रसाईंले ७ मंसिरदेखि देशै ठप्प पारेर राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना गर्ने आन्दोलन थाल्ने बताउँदै आएका थिए ।
पछिल्लो समय उनले दूतावासहरूको नाम नै तोकेर बम प्रहार हुनसक्ने र दोष आफूलाई थुपारिदिन सक्ने भन्दै दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले नोटिसमा लिएको थियो । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने प्रसंग उठेको थियो ।
हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय भएसँगै उनी पक्राउ परेका हुन् ।

