विराटनगर । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आधिकारिक वेबसाइट ह्याक भएको छ । ह्याकरहरूले वेबसाइटमा व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र रिहा गर्न माग गर्दै चेतावनीमूलक सन्देश राखेका थिए ।
गृह मन्त्रालयले वेबसाइट ह्याक भएको पुष्टि गरिसकेको छ र अहिले रिकभर गर्ने काम भइरहेको छ । यद्यपि डाटाहरु सुरक्षित रहेको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ ।
विभागको वेबसाइट खोल्दा सुरुमा दुर्गा प्रसाईँको रिहाइको माग गरिएको सूचना देखिए पनि पछि त्यो हटाइएको थियो । यो घटनाले राष्ट्रिय परिचयपत्रमा रहेको नागरिकको तथ्याङ्कको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ । विभागको सिस्टममा करिब १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको बताइएको छ ।
हालै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनका क्रममा राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडेको थियो । यो घटनाले संवेदनशील सरकारी वेबसाइटहरूको सुरक्षालाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

