लोड हुँदैछ...

मेनु

रास्वपाको जिल्ला अधिवेशन आज, नेतृत्वको लागि गुटगत हानथाप

रास्वपाको जिल्ला अधिवेशन आज, नेतृत्वको लागि गुटगत हानथाप

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको पहिलो जिल्ला अधिवेशन आज विराटनगरमा सुरु हुँदै गर्दा नेतृत्व चयनलाई लिएर पार्टीभित्र चुनावी सरगर्मी बढेको छ।

नेतृत्वमा जान इच्छुकको संख्या बढेपछि उम्मेदवारहरू मत माग्न व्यस्त भएका छन् भने पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा समेत चुलिएको छ।

जिल्ला सभापति पदका लागि सागर फुयाँल, कोषराज खनाल र भरत कँडेलले आकांक्षा देखाएका छन्। उनीहरू यतिबेला प्रतिनिधिहरूमाझ आफ्नो पक्षमा समर्थन जुटाउन सक्रिय छन्।

सभापतिका आकांक्षी सागर फुयाँललाई प्रधानमन्त्री बालेन्द्र शाह निकट उम्मेदवारका रूपमा हेरिन्छ। पेसाले शैक्षिक व्यवसायी फुयाँल देवकोटा कलेज र होलील्याण्ड कलेजका प्रिन्सिपल रहिसकेका छन् भने विराटनगरमा न्यु बिट कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्दै आएका छन्।

अर्का आकांक्षी भरत कँडेल उर्लाबारी निवासी हुन्। उनी रास्वपा मोरङका संस्थापक सभापति तथा करिब डेढ वर्षअघि सम्पन्न भेलाबाट निर्वाचित जिल्ला सभापति हुन्। उक्त भेलामा पनि सभापतिका आकांक्षी धेरै भएपछि निर्वाचन भएको थियो, जसमा कँडेल विजयी बनेका थिए। शिक्षण पेसाबाट राजनीति प्रवेश गरेका कँडेलले उर्लाबारीका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्यापन गर्नुका साथै काउन्सिलरका रूपमा समेत काम गरेका छन्।

सभापति पदका अर्का दाबेदार कोषराज खनाल वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन्। एक दशकभन्दा बढी समय विदेश बसेपछि नेपाल फर्किएका खनाल पार्टी स्थापनाकालदेखि नै रास्वपामा सक्रिय रहँदै आएका छन्।

उपसभापति पदमा भने हालसम्म विमला बस्नेतको मात्र उम्मेदवारी आकांक्षा देखिएको छ। सचिव पदका लागि दिवस नेपाल, सुरेश कुमार श्रेष्ठ र कुमार फुयाँल मैदानमा छन्। यसअघि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका दिवस नेपाल ‘जेन्जी आन्दोलन’पछि रास्वपामा आबद्ध भएका हुन्। कुनै नेपाली कांग्रेस विराटनगर महानगरको उपसचिव थिए। उनले पनि आफूलाई बालेन निकट बताउने गरेको राष्ट्र कार्यकर्ताहरूले जानकारी दिएका छन्।

सहसचिव पदका लागि सिर्जना गिरी आचार्य र सन्तोष कुमार सिंह आकांक्षी देखिएका छन्। गिरी यसअघि पनि सहसचिवमा निर्वाचित भइसकेकी थिइन्।

रास्वपाको विधानअनुसार कोषाध्यक्ष भने निर्वाचित जिल्ला समितिले चयन गर्ने व्यवस्था छ। अधिवेशनले क्षेत्रीय सभापतिहरूको समेत चयन गर्नेछ।

पार्टी स्रोतका अनुसार नेतृत्व चयनलाई लिएर पुरानो रास्वपा नेतृत्व समूह र बालेन निकट मानिने समूहबीच आन्तरिक प्रतिस्पर्धा देखिएको छ। यद्यपि उम्मेदवारहरूले आफूलाई साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्दै प्यानल बनाएर प्रतिस्पर्धा नगर्ने बताएका छन्। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिए पनि गुटीय प्रतिस्पर्धा संस्थागत नहोस् भन्ने उद्देश्यले प्यानल प्रणालीलाई निरुत्साहित गरिएको एक नेताले बताए।

बालेन निकट एक नेताका अनुसार आगामी प्रदेश सभा र स्थानीय तह निर्वाचनको नेतृत्व तथा उम्मेदवार चयनलाई दृष्टिगत गर्दै अहिलेदेखि नै समूहगत प्रभाव विस्तारको प्रयास भइरहेको छ। उनले पार्टीभित्र बालेन समूहका नेताविरुद्ध अनर्गल प्रचार भइरहेको तथा संस्थापन पक्ष हाबी हुन खोजेको आरोप लगाए।

यसअघि मोरङका १३ स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेका छन्। तीमध्ये १२ पालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको थियो।

यसैबीच, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज देशभर ३६ जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। कोशी प्रदेशका ८, मधेशका २, बागमतीका ९, गण्डकीका ५, लुम्बिनीका ८, कर्णालीका २ र सुदूरपश्चिमका ३ जिल्लामा अधिवेशन सञ्चालन भइरहेको छ।

भोलि थप २९ जिल्लामा अधिवेशन सम्पन्न हुने कार्यक्रम छ भने विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन जेठ २६ गतेका लागि तय गरिएको छ। रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।